
पूर्वपोष्ट
ताप्लेजुङ, २ जेठ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भरिका विद्यालयहरुमा मुख्य विदाबाहेक सार्वजनिक विदाका दिनपनि विद्यालयमा पठनपाठन गरिने भएको छ ।
शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको बर्षे बिदालाई घटाउने समेत भएको छ । शिक्षक आन्दोलनका कारण सामुदायिक बिद्यालयको पढाईमा परेको असर पुरा गर्ने बर्षे विदालाई घटाईने भएको हो । गाउँ शिक्षा समिति तथा पालिकामा रहेका ४० बिद्यालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो ।
पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले शैक्षिक क्यालेण्डरमा भएको मिन पचासको वर्षे बिदालाई असार मसान्त सम्म घटाउने र बर्षा यामको मौसमलाई मध्यनजर गरी शिक्षा शाखाबाट सूचना जारी भएपश्चातमात्र बिद्यालय बिदा गर्ने निर्णय भएको जानकारी दिए ।
शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष लिम्बूले आन्दोलनका कारण बिद्यालयको पढाईमा भएको असर भरण गर्न दशैं तिहार पश्चातका सार्वजनिक बिदाका दिनहरुमा समेत पठनपाठन सञ्चालन गर्ने सहमति भएको बताए । पालिकाले बिद्यालय भर्ना अभियानको सट्टा बिद्यालय र अभिभावक सुधार योजना अन्तरगत जेठ १० गते सम्म पालिकाका सबै बिद्यालयले अभिभावक भेटघाट तथा शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने समेत बैठकमा निर्णय गरिएको छ ।
फक्ताङलुङ गाउँपालिका भरीका बिद्यालयहरुले एचपिएफ र रिड नेपालले सञ्चालनमा ल्याईरहेको सप प्रश्न अभियान हरेक कक्षाकोठामा लागु गर्नुपर्ने, त्रैमासिक र बार्षिक परीक्षाको नतिजा प्रकाशित गर्दा विद्यालयहरुले अनिवार्य रुपमा अभिभावकहरुलाई बिद्यालयमा बोलाउनुपर्ने र सम्वन्धित अभिभावकलाई विद्यार्थीले लेखेको उत्तरपुस्तिका देखाई कमी कमजोरी औल्याईदिनुपर्ने नियम समेत पालिकाले बनाएको छ । पालिका भरीका हरेक बिद्यालयका प्रधानाध्यापकहरुले प्रत्येक शिक्षकसंग शिक्षकहरुले गर्नुपर्ने कार्य, पालना गर्नुपर्ने आचार संहिता, हाँसिल गर्नुपर्ने सिकाई उपलब्धी सहितका विषय समावेश गरी कार्य विवरण सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति पालिकाको शिक्षा शाखामा पेश गर्नुपर्ने नियम समेत पालिकाले निर्धारण गरेको छ ।
पालिका भरीका बिद्यालयहरुमा बाल क्लव तथा अंग्रेजी बोलीचाली क्लव गठन गरी क्लवहरुमार्फत बर्षभरी सञ्चालन हुने गतिविधिहरुको बार्षिक कार्यतालिका तयार गर्ने, कम्तिमा महिनामा एकपटक अतिरिक्त क्रियाकलाप अन्तरगतका कार्यक्रमहरु अंग्रेजी बोलीचाली क्लवमार्फत सञ्चालन हुने प्रवन्ध समेत राखिएको छ ।
पालिकाका सबै बिद्यालयले गर्नुपर्ने भएको छ । आउँदो आर्थिक वर्षका लागि बजेट व्यवस्थापन भएमा २०८२ सालको एसईई परीक्षा र कक्षा ८ को परीक्षामा समावेश हुने बिद्यार्थीलाई अन्तिम ४ महिनाका लागि एक समयको खाना र खाजा प्रदान गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा उपस्थित गराई दिवा छात्रावासको व्यवस्था गर्ने निर्णय समेत पालिकाले गरेको छ । उक्त कार्यका लागि विद्यालयमै बिद्यार्थीहरुको लागि खानाको मेस सञ्चालन गरी प्रति विद्यार्थी ७० रुपैयाँमा एक समयको खाना तथा प्रति बिद्यार्थी ३० रुपैयाँमा एक समयको खाजाको व्यवस्थापन पालिकाबाट गर्ने निर्णय समेत गरिएको अध्यक्ष लिम्बुले जानकारी दिए ।
शैक्षिक सत्र २०८२ देखि कक्षा ५ को बार्षिक परीक्षा समेत पालिका स्तरीय गर्ने निर्णय फक्ताङलुङले गरेको छ ।े कक्षा ८ को बार्षिक परीक्षा यसअघिबाट नै पालिका स्तरीय गर्दै आइरहेको छ । पालिकाले शैक्षिक सत्र २०८२ देखि कक्षा ४ देखि माविका हरेक कक्षाको हरेक विषयमा विद्यार्थी सफल हुने दर कम्तिमा ६५ प्रतिशत हुनुपर्ने लक्ष्य निर्धारण गरेको छ । पालिकाले शैक्षिक सत्र २०८२ देखि सर्वोत्कृष्ट सिकाई उपलब्धी हासित गर्ने शिक्षकलाई सम्मान तथा सबैभन्दा कम सिकाई उपलब्धी हासिल गर्ने विद्यालय तथा विषय शिक्षकलाई दण्ड स्वरुप पहिलो चरणमा सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।
फोटोः फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति)को फेसबुकबाट