
केशवप्रसाद भट्टराई ताप्लेजुङ, १७ जेठ ।
ताप्लेजुङमा चलिरहेको ‘प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव २०८२’को अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा पुरुषतर्फ विविसन लिङ्देन र महिलातर्फ जुही राईले उपाधी चुमेका छन् । म्याराथन खुला प्रतियोगितामा लिङ्देन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुदै उपाधी चुमेका हुन् । पुरुषतर्फका प्रथम लिङ्देन ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–५ पेदाङका हुन् भन महिलातर्फ प्रथम रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी रहेको आयोजक जनाएको छ । यस्तै, म्याराथनमा पुरुषतर्फ फिदिम नगरपालिका–४ पाँचथरका विशाल राई दोस्रो र ताप्लेजुङकै मैवाखोला गाउँपालिका–६ फाकुम्बाका प्रकाश लिम्बू तेस्रो भएका छन् । महिलातर्फ मिक्लाजुङ गाउँपालिका–२ पाँचथरकी पुष्पा सेर्मा(लिम्बू) दोस्रो र रामप्रसाद राई गाउँपालिका–७ भोजपुरकी विनिता राई तेस्रो भएका छन् । म्याराथनका विजेताले पुरुष र महिला दुवैतर्फ समान पुरस्कार राशि प्राप्त हासिल गरेका छन् । जसअनुसार प्रथम ४० हजार रुपियाँ, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपियाँ दरले नगद पुरस्कार सहित प्रमाणपत्र हातपारेका छन् । महोत्सव आयोजक समितिका अमिर राईले म्याराथनमा कुल ६१ जनाको सहभागिता रहेको र जसमा महिला सात जाना रहेको समेत राईले बताउनुभयो । आयोजकले स्थानीय तर्फ पनि प्रतिस्पर्दी छुट्याईएको थियो । जसमा स्थानीयतर्फ सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका भरत बानियाँ प्रथम हुनुभएको राईले जानकारी दिनुभयो । बानियाँले २५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएका छन् । समुद्र सतहदेखि तीन हजार ५१२ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाम क्षेत्रको प्रचार प्रसार र प्रवर्धन गर्ने उद्देश्यले सिदिङ्वा गाउँपालिकाले पर्यटन महोत्सवको आयोजना गरेको हो । सिदिङ्वाधाम सहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गालगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्धन गर्नसमेत महोत्सव आयोजना गरिएको हो । शुक्रबार सुरु भएको तीन दिने महोत्सवको शनिबार औपचारिक रूपमा समापन हुने भएको छ ।