
पूर्वपोष्ट
ताप्लेजुङ, १ जेठ । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गमा पर्ने पाँचथारको हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधिन बेलिबृज निर्माण गर्ने क्रममा शनिबार साझ खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख तथा प्रहरी नायव उपरिक्षक कौशलकुमार बुढाथोकीले शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको बताउनुभयो ।
दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पु¥याईएको थियो । सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको पाँचथर प्रहरी प्रमुख (डीएसपी) बुढाथोकीले बताउनुभयो ।
शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका ४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका ७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने २ जना सामान्य छन । उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पु¥याइएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका १२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाईते छन् ।
मेची राज मार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएको थियो । हेवाखोलामा पहिलो पटक बेलिब्रिज बनाइएको थियो । सो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाए पछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाम मार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।
पुल बगेपछि यहाँ ह्युम पाइप मार्फत् डाइभर्सन गरेर यातायात आवागमन गराइँदैछ । यद्यपि ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ । बेलिब्रिज खसेसँगै वर्षा याममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिम देखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम हुने देखिएको छ ।
निर्माण सकिदा नेपाल कै लामु बेलिव्रिज भनेर भनिएको यो बेलिब्रिज निर्माण नसकिदै भत्किएको छ । ७० मिटर लामो बेलिब्रिजलाई प्रावधिकहरुले (मोडुलर ब्रिज) भन्दै नेपाल कै लामु भन्दै आएका थिए । अन्ततः बनाई नसिदै भत्किएको छ । बेलिब्रिजका लागि ३ करोड ४९ लाख ३ सय ३६ रुपैंयामा बनाउने जिम्मा दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीले कामगर्दै आएको छ ।