पूर्वपोष्ट
ताप्लेजुङ, ७ असार । हिमाली जिल्लत ताप्लेजुङमा चालु आर्थिक वर्षका ६ महिनामा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले गत पुसदेखि असारसम्म भएका ३५ घटना भएको जनाएको छ । इन्सेक ताप्लेजुङका प्रतिनिधि एलिना दियालीले ३५ मध्ये ११ घटना घरेलु हिंसाका घटना भएको बताउनुभयो ।
इन्सेकले प्रस्तुत गरेको प्रतिवेदन अनुासर ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेको औल्याएको छ । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा जिल्ला कारागार ताप्लेजुङमा अहिले १४१ जन कैदी रहेको उल्लेख गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्खया पनि बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि प्रहरीहरू सक्रिय रुपमा लागेको समेत जानकारी दिनुभयो ।
ईन्सेक प्रतिवेदनमा जबरजस्ती करणीका ७ घटना, जसमा ६ बालिका र एक महिला पीडित भएको उल्लेख छ । १२ वर्षीया बालिका देखि ५१ वर्र्षीया महिलासम्म जबरजस्ती करणीबाट पीडित भएको तथ्यांकमा उल्लेख रहेको छ । अभद्र व्यवहारका ७, ज्यान मार्ने उद्योगका ५, अपराधिक उपद्रवका ३, कर्तव्य ज्यान, बहुविवाह र जबरजस्ती करणी उद्योगका १–१ घटना रहेको प्रतिवेदनमा रहेको छ । इन्सेकले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना र जागरण अभियानलाई सम्बन्धित सबैको प्रभावकारी सक्रियता र समन्वयमा न्यूनीकरण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफू र मातहतका निकायबाट प्रदान हुने सेवाको प्रभावकारी वितरणमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । हेंवाखोलामाथि निर्माणाधीन बेलिब्रिज भत्किएर ताप्लेजुङ–पाँचथरको सोझो यातायात सम्पर्क टुट्ने जोखिमप्रति जिल्ला विपद् व्यवस्थापन समितिले योजना बनाउने र सम्बन्धित पक्षसँग समन्वय भईरहेको बताउनुभयो ।
कारागारका लागि आफ्नै जग्गा भए पनि भवन नबनिसकेकाले क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको बाध्यता भएको प्रजिअ शर्माले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसचिव लिलाराज पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य कर्यक्रममा उपस्थित रहेको थियो ।

