भोमादेवी पोख्रेल
ताप्लेजुङ, २६ असार । ताप्लेजुङको फक्तङ्लुङ गाउँपालिकाले चालु अर्थिक बर्ष २०८१/०८२ मा कुल बजेटको करिव ८३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आ.व.२०८१/०८२ का लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालन अन्तर्गत चालु र पुँजीगत दुवै गरी ८३ प्रतिशत खर्च गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत नविन तेम्बेले पूँजी गत तर्फ ८२ प्रतिशत खर्च भएको बताउनुभयो । भने चालु तर्फ ८४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो । उता, मैवाखोला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा करिव ९० प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले चालु आवका लागि स्वीकृत बजेट तथा कार्यक्रम सञ्चालन अन्तर्गत चालु र पुँजीगत दुवै गरी कुल ८९.११ प्रतिशत खर्च गरेको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले कुल खर्चमध्ये विकास बजेट अर्थात पुँजीगत खर्चको प्रगति ८७.४१ प्रतिशत रहेको छ । त्यस्तै चालुतर्फ खर्चको प्रगति ९०.०५ प्रतिशत रहेको अध्यक्ष वनेमले बताउनुभयो । मिक्वाखोला गाउँपालिकाले बजेटको ८१ प्रतिशत खर्चभएको प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले बताउनुभयो ।
बजेट कार्यान्वयनका लागि जनप्रतिनिधि, गाउँपालिकामा कार्यररत कर्मचारी, टोल विकास संस्था, निर्माण व्यवसायी, राजनीतिक दल लगायतको सक्रिय भूमिकाबाट उक्त परिमाणमा खर्च गर्न गाउँपालिका सफल भएको अध्यक्ष वनेमको भनाइ छ । गाउँपालिकाको बजेट तथा कार्यक्रम सञ्चालन र कार्यान्वयन गर्न आ–आफ्नो ठाउँमा योगदान गर्ने सबै पक्षलाई अध्यक्ष वनेमले धन्यवादसमेत दिनुभएको छ ।
फुङलिङ नगरपालिकाले प्रेस नोट जारी गर्दै बुधबार राति १२ बजे सम्ममा कुल ७७.४४ प्रतिशत रकम खर्च अर्थात भुक्तानी भएको उल्लेख गरिएको छ । उक्त खर्च रकममध्ये चालुतर्फ ८६.०२ प्रतिशत र पुँजीगततर्फ ५९.०८ प्रतिशत रहेको छ । बजेट खर्चमा भएको प्रगतिका लागि भूमिका निर्वाह गर्ने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायीलगायत सबै पक्षलाई नगरपालिकाले धन्यवाद समेत दिएको छ ।

