पूर्वपोष्ट
ताप्लेजुङ, ४ असार । पाँचथरमा मेची राजमार्ग, तमोर कोरिडोर, मध्यपहाडी लोकमार्ग सहित आधा दर्जन बढी सडक अवरुद्ध भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले खोलाका ह्यम पाइप तथा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीका कारण मेची राजमार्गअन्तर्गत फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । यो सडक अवरुद्ध हुँदा पाँचथरका केही स्थानीय तहका साथै ताप्लेजुङसँगको सडक सञ्जाल टुटेको छ । यो खोलामा ०८० असारमा आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि यातायात सञ्चालन गर्न बनाइएको बेलीब्रिज पनि गत वर्षको बाढीले बगाएको थियो । यो वर्ष सरकारले बेलीब्रिज बनाउन सुरु गरे पनि जडानको अन्तिम समयमा गत जेठमा भाँचिँदा तीन जना मजदुरको मृत्यु भयो । एक वर्षदेखि खोलामा ह्युम पाइप लगाएर डाइभर्सन बनाइएको थियो । यद्यपि हेवा खोलामा बाढी आउँदा डाइभर्सन बगेको छ । हेवा खोलामा बाढी आइरहेकाले अहिले तत्काल डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गर्न मुस्किल गहेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
यस्तै अविरल वर्षाका कारण तमोर कोरिडोर पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा पर्ने नावा खोलामा बाढी आउँदा तमोर कोरिडोर अवरुद्ध भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । यस्तै, मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । बाढीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ मा पर्ने इङ्वा खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक तामाङले जानकारी दिए । यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गत याङवरक गाउँपालिका– ३ स्थित रिजालभिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको तामाङले बताए । यस्तै, अविरल वर्षाका कारण फिदिम फालोट सडक खण्ड, राँके–भेडेटार सडक खण्ड तथा अन्यभित्रि सडकसमेत अवरुद्ध भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!