पूर्वपाेष्ट
ताप्लेजुङ, ५ साउन । ताप्लेजुङको मेरुदण्डका रुपमा रहेको पाँचथरको मेची राजमार्ग अन्तर्गत हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले पक्की सडक साथै पुल बगायो । त्यसपछि उक्त स्थानमा एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रबन्ध स्थानीयबासी तथा सुरक्षा कर्मी लगायतको सकृयतामा भयो । पुल बगाएको करिब दुई महिनापछि सोही स्थानमा सडक डिभिजन कार्यालय ईलामको पहलमा बेलिब्रिज जडान सम्पन्न भयो ।
उक्त, बेलिवृजबाट १५ महिना यातायातका साधनहरु आवतजावत सहजै बन्यो । तर, १५ महिना पछि अर्थात २०८१ साल असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले बेलिब्रिज बगायो । बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो । हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो । निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो । सडक डिभिजन कार्यालय इलामले रु तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो । बेलिब्रिज भाँचिदा निर्माणमा संलग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान नै गयो ।
यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो । तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराति आएको बाढीले यहाँ निर्माण गरिएका दुई डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ । यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकोमा चिन्तित छन् । बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्ने यात्रुहरुको भनाई छ ।
दैनिकरुपमा झापा, ईलाम, सुनसरी तथा मोरङबाट आउने यात्रुहरु सवारीसाधन छोडेर भारी र बालबच्चा सहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता रहेको छ । यात्रुका सामग्री स्थानीयवासी युवाहरुले केही शुल्क लिएर वारपार गराउँदै आएका छन् । अशक्त यात्रुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ । तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठीन छ । यस राजमार्गमा दैनिक हजारौँ यात्रु यात्रा गर्ने गर्दछन् । तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुहरुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी व्यवसायी धनमता सुनुवार(गुरुङ)को भनाइ छ ।
सडक डिभिजन कार्यालय इलामका ईन्जिनियर सीताराम गौतमले भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको र भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपूर्जा भारतबाट मगाइएको बताउनुभयो ।
यस पुलले पुरै ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीसाधन सञ्चालन गर्न सम्भव नभएको र यसको असर प्रभावित क्षेत्रका बिरामी, विद्यार्थी साथै सम्पुर्ण प्रभावित क्षेत्रका बासिन्दालाई परेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!