केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २८ साउन । ताप्लेजुङमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा ललितपुरको चर्च ब्वाइज क्लब पुगेको छ । ताप्लेजुङको फुङलिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सुनसरीको द योङ ब्रदर्स क्लबलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै उपाधि नजिकको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलेको दोश्रो हापको ७७ मिनेटमा द योङ ब्रदर्स सुनसरीले अप्रत्यसीतरुपमा १ गोल लागेपछि १–० को लिएको अग्रता थियो । तर, आक्रामक रुपमा उत्रिएको चर्च व्याईजले खेलको निर्धारित समय सकिएर थप ५ मिनेटको ईन्जुरी समयको तीन मिनेट अर्थात ९३ औ मिनेटमा सुमन श्रेष्ठले १ गोल गर्दै १–१ गोल गर्दै बराबरमा पुगेको थियो । अन्ततः खेलको अन्तमा खेल ट्राईबेकर पगेर ३–१ गोल गर्दै फाईनलको यात्रा तय गरेको हो ।
गएको साउन २४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुनसरीले उद्घाटन खेलमै आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । उता, चर्च ब्वाइजले भारतको लिजेण्ड फुटबल एकेडेमी, सिलिगुढीलाई १–० को कठिन जित सहित पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
यसैबीच, भोलि दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो जित दिंदै सेमिफाइनलमा प्रवेश गरेको हो । झापाले पोखराको सहारा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
आठ टोली सहभागी रहेको यो प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल साउन ३१ गते सम्पन्न हुने कार्यक्रम छ । विजेता टोलीले नगद रु ७ लाख २ हजार ८२ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ३ तीन लाख ५० हजार ८२ रुपैंया सहित पुरस्कार प्राप्त गर्नेछ । साथै, प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजक सकितिका अध्यक्ष सागर मादेनले जानकारीदिए ।

