केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १५ मंसिर । फुङलिङमा जारी कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा फुङलिङ नगरपालिकाले फक्ताङलुङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

खेलको ४५औँ मिनेटमा सम्झना लावतीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । त्यसपछि ४९औँ मिनेटमा पुनः सुजता लिम्बूले दोस्रो गोल गर्दै जितलाई अझै मजबुत बनाएकी थिइन् । खेलको ५४औँ मिनेटमा समीक्षा मगरले तेस्रो गोल गर्दै जित सुनिश्चित गरिन् । प्रभावकारी प्रदर्शनका आधारमा सम्झना लावती ‘प्लेयर अफ द म्याच’ समेत घोषित भइन् । उनले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरिन् । अब फुङलिङ नगरपालिकाले सेमिफाइनलमा माैवाखोला गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ । सोही क्रममा मंगलबार मेरिङदेन गाउँपालिका र सिदिङ्वा गाउँपालिकाबिच अर्को क्वाटरफाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडीका लागि विभिन्न विधामा आठ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीका लागि १० हजार रुपैयाँ, र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
चासोक तङनामको अवसरमा कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल २० मंसिरमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!