केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १६ मंसिर । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ । आज सम्पन्न अन्तिम क्वाटरफाइनलमा सिदिङ्वा गाउँपालिकालाई २–१ ले हराउँदै मेरिङदेनले अन्तिम चारमा स्थान बनायो । खेलको सुरुआती चरणमै दबदबा जमाउँदै ७ औँ मिनेटमा अनुष्का शेर्पाले गोल गरेकी थिइन् । त्यसपछि ३८औँ मिनेटमा उनले नै दोस्रो गोल थप्दै टिमलाई आरामको अवस्थामा र्पुयाइन्। खेलको ७० औँ मिनेटमा सिदिङ्वाकी हिमा राईले एउटा गोल फर्काए पनि त्यसले टिमलाई खेलमा फर्किन पर्याप्त भएन ।
यस जितसँगै मेरिङदेन गाउँपालिकाको सेमिफाइनल भिडन्त पाथीभरा याङ्वरक गाउँपालिकासँग तय भएको छ । पाथीभराले आइतबारको खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ ले हराउँदै सेमिफाइनलको टिकट काटेको हो ।
उता, सोमबारको तेस्रो क्वाटरफाइनलमा फुङलिङ नगरपालिकाले फक्ताङलुङ गाउँपालिकालाई ३–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलमा फुङलिङकी सम्झना लावतीले ४५औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि सुजता लिम्बूले ४० औँ मिनेटमा दोस्रो गोल थपिन् भने ५४ औँ मिनेटमा समीक्षा मगरले तेस्रो गोल गर्दै फुङलिङको जित सुनिश्चित गरिन । अब फुङलिङले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ । मैवाखोलाले उद्घाटन खेलमै सिरिजङ्घालाई २–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको हो ।
प्रतियोगितामा विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। कोषाध्यक्ष कुलदिप मादेनका अनुसार म्यान अफ द म्याचलाई पाँच हजार, विधागत उत्कृष्ट खेलाडीलाई आठ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको संयुक्त आयोजनामा भइरहेको यो प्रतियोगिताको फाइनल मंसिर २० गते हुने तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!