केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकपको फाईनलमा फुङलिङ नगरपालिकाको टिम प्रवेश गरेको छ । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम २०८२ को अवसरमा आयोजना गरिएको प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा फुङलिङले मैवाखोला गाउँपालिकालाई २–० ले हराउँदै फाइनलमा पुगेको हो ।
खेलको ५२ औँ मिनेटमा समीक्षा मगरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । इन्जुरी समयमा उनले दोस्रो गोल थपेपछि फुङलिङको जित पक्का भयो । यसअघि, तेस्रो क्वाटरफाइनलमा फुङलिङले फक्ताङलुङ गाउँपालिकालाई ३–० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
मैवाखोलाले भने उद्घाटन खेलमै सिरिजङ्घा गाउँपालिकालाई २–० ले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल बिहीबार मेरिङ्देन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाबीच हुँदै छ । मेरिङ्देनले सिदिङ्वा गाउँपालिकालाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको हो भने पाथीभरा याङवरकले आठराई–त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । दोस्रो सेमिफाइनलको विजेता टोलीले फाइनलमा फुङलिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । विजेताले ट्रफी सहित दुई लाख दुई हजार ८२ रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । म्यान अफ द म्याचलाई पाँच हजार, विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीलाई आठ–आठ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा भइरहेको यो प्रतियोगिताको फाइनल मंसिर २० गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!