पूर्वपाेष्ट
ताप्लेजुङ १५ फागुन । हिमपात र दुर्गम भूगोलको चुनौतीबिच ताप्लेजुङका चार उच्च हिमाली बस्तीका मतदान केन्द्रतर्फ शुक्रबार निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ । सम्भावित मौसम जोखिमलाई ध्यानमा राख्दै समयअगावै तयारी तीव्र बनाइएको हो ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार यांमा, ओलाङचुङगोला, घुन्सा र ग्याब्ला मतदान केन्द्रका लागि मतपत्रसहित आवश्यक सम्पूर्ण सामग्री पठाइएको हो । सम्बन्धित केन्द्रतर्फ मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मीसहितको टोली प्रस्थान गरेको उनले बताए ।
शुक्रबार बिहान ओलाङचुङगोलाका मतदान अधिकृत डम्बरबहादुर आङदेम्बे, ग्याब्लाका विमल गौतम, घुन्साका देवेन्द्र मेन्याङ्वा र यांमाका माधव खड्काले निर्वाचन सामग्री बुझेर सम्बन्धित केन्द्रतर्फ गएका छन्।
जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार उपल्लो क्षेत्रको यात्रा कठिन र मौसम अनिश्चित रहने भएकाले सामग्री र जनशक्ति समयमै पठाइएको हो ।
उच्च हिमाली भूभागका कारण यी केन्द्रसम्म पुग्न लामो पैदलयात्रा गर्नुपर्छ । समुद्र सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको यांमा पुग्न ओलाङचुङगोला हुँदै जानुपर्छ ।
घुन्सा करिब ३,४७५ मिटर उचाइमा रहेको बस्ती हो भने फलेका बासिन्दाले मतदानका लागि घुन्सामै पुग्नुपर्ने व्यवस्था छ। करिब ३,२०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला पर्यटकीय सम्भावना बोकेको सघन हिमाली बस्तीका रूपमा चिनिन्छ ।
प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार फागुन १५ गतेदेखि नै उपल्लो क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी र सामग्री पठाउन थालिएको थियो। फागुन १७ गतेसम्म सबै कर्मचारी सम्बन्धित केन्द्रमा पुगिसक्ने र १८ गते स्थानीय सरोकारवालासहित बैठक बसी कार्यतालिकाअनुसार सूचना प्रकाशन गरिनेछ ।
उपल्लो क्षेत्रमा जाने टोलीलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन निर्देशन दिँदै जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले बिदाइ गरेका छन् । मतपेटिकाको सुरक्षा र सुरक्षित फिर्तीलाई विशेष प्राथमिकता दिइएको प्रशासनले जनाएको छ ।
हिमाली क्षेत्रमा मौसम आकस्मिक रूपमा फेरिन सक्ने भएकाले हिमपात वा चिसो हावाहुरीले यात्रा प्रभावित हुन सक्ने जोखिम यथावत् छ । तथापि, पूर्वतयारी र सुरक्षात्मक व्यवस्थासहित निर्वाचन सुनिश्चित गर्ने प्रशासनको दाबी छ ।

