केशवप्रसाद भट्टराइ

ताप्लेजुङ २७ जेठ ।  ताप्लेजुङमा निर्माणाधीन २८.१ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत् आयोजनाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आयोजनाको मुख्य हेडरेस सुरुङमा ‘ब्रेक थ्रु’ भएसँगै कुल ५.६ किलोमिटर लम्बाइका सबै सुरुङ निर्माण कार्य सम्पन्न भएको हो।

सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाको सिमाना हुँदै बग्ने काबेली खोलामा निर्माण भइरहेको आयोजनाको करिब ४.९ किलोमिटर लामो मुख्य हेडरेस सुरुङ आइतबार सम्पन्न भएको आयोजना व्यवस्थापक प्रकाश ढुङ्गानाले जानकारी दिए। यसअघि गत साउनको पहिलो साता इन्टेकसँग जोडिएको एक हजार ७ सय ७२ मिटर लामो अडिट सुरुङ निर्माण सम्पन्न भएको थियो।

मुख्य र अडिट सुरुङसहित कुल पाँच हजार ६ सय मिटर बराबरको सुरुङ निर्माण कार्य सकिएसँगै आयोजना निर्माणको करिब ७५ प्रतिशत काम पूरा भएको ढुङ्गानाले बताए।

उनका अनुसार मुख्य सुरुङसँगै पेनस्टक टनेल, इन्टेक संरचना, पाइप बिछ्याउने तथा प्रसारण लाइनका लागि तार टाँग्ने अधिकांश काम सम्पन्न भइसकेको छ। हाल बालुवा थिग्राउने पोखरी (सेडिमेन्टेसन बेसिन) निर्माणको करिब ५० प्रतिशत काम सकिएको छ भने केही सहायक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ।

आयोजनाले आगामी असोज–कात्तिकभित्र विद्युत् उत्पादन परीक्षण (टेस्टिङ) गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ। सबै काम निर्धारित समयमै सम्पन्न भए दसैँ–तिहारको अवधिसम्म परीक्षण उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।

आयोजनाको मुहान (हेडवर्क्स) सिरिजङ्घा गाउँपालिका–४ तेल्लोक क्षेत्रमा रहेको छ भने विद्युत् गृह सिरिजङ्घा गाउँपालिका–१ र २ को सिमाना नेबु खोला दोभानमा निर्माण भइरहेको छ। खोयाहाङदेखि सिनामसम्म फैलिएको हेडरेस सुरुङ आयोजनाको मुख्य संरचनामध्ये एक हो।

पिस इनर्जी कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको अनुमानित लागत पाँच अर्ब ६४ करोड ६९ लाख रुपैयाँ रहेको छ। कुल लागतको ७५ प्रतिशत रकम नेपाली बैंकहरूको ऋण लगानीबाट जुटाइएको छ भने बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक कम्पनीको स्वपुँजी रहेको छ। माछापुच्छ्रे बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), राष्ट्रिय वाणिज्य बैंक र लक्ष्मी सनराइज बैंकले ऋण लगानी गरेका छन्।

आयोजनाबाट उत्पादन हुने विद्युत् पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाको मुख्य प्रभावित क्षेत्रमा सिरिजङ्घा गाउँपालिकाका सिनाम, आम्बेगुदिन र तेल्लोक तथा सिदिङ्वा गाउँपालिकाका लिम्बुदिन र मेहेले क्षेत्र पर्दछन्। सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजना व्यावसायिक उत्पादनको लक्ष्यतर्फ थप नजिक पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय