पूर्वपोष्ट
ताप्लेजुङ, ९ भदौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपस्थित तमोर करिडोर सडक खण्डमा टिपर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।
सोमबार दिउँसो करिब २ बजेको समयमा तमोर फाइभ हाइड्रोपावरमा प्रयोग भइरहेको ग १ क ६३१८ नम्बरको टिपर बिग्रिएको कारण सोही हाइड्रोपावरमा मेकानिकको रूपमा कार्यरत तनहुँ जिल्ला, शुक्ला गण्डकी गाउँपालिका–४ निवासी वर्ष लगभग २४ का सुदिप सुबेदीले बिग्रिएको टिपर जाँच गर्ने क्रममा दुर्घटना भएको हो ।
टिपर चेक गर्ने क्रममा अचानक सन्तुलन गुमाउँदै सवारी सहित करिब २५ मिटर तल तमोर नदीमा खसेको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी दिउँसो २.३० बजेको समयमा लुङथुङ प्रहरी चौकीमा पुगेपछि प्रहरी निरीक्षक टंक बहादुर बस्नेतको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
टोली घटनास्थलमा पुगेपछि टिपर तमोर नदीमा उल्टिएको अवस्थामा फेला परेको छ भने सुदिप सुबेदी भने घटनास्थलमा फेला परेका छैनन् । उनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको स्थान लुङथुङ प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्ने स्थानमा पर्दछ । घटनाको थप अनुसन्धान र उद्धार प्रयासहरू जारी रहेको प्रहरीले जनाएको छ ।

