पूर्वपोष्ट
ताप्लेजुङ, १० भदौ । ताप्लेजुङका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराज सेढाइँले समग्र जिल्ला प्रशासनलाई प्रभावकारी, जनमुखी र विकासोन्मुख बनाउने अठोट व्यक्त गर्नुभएको छ । सोमबार मात्र गृह मन्त्रालयबाट सरुवा भई ताप्लेजुङ आएका सेढाइँले मंगलबार पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा आफ्नो भावी कार्यदिशाबारे स्पष्ट धारणा राख्नु भएको हो ।
प्रजिअ सेढाइँले सेवा प्रवाहलाई अझ छरितो, प्रभावकारी र जनमैत्री बनाउने प्रतिबद्धता जनाउँदै विगतमा भएका राम्रा अभ्यासको निरन्तरतासँगै नयाँपनको अनुभूति दिलाउने गरी प्रशासनिक काम अघि बढाउने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयलाई एक प्रशासनिक इकाईको सीमाभन्दा बाहिर ल्याई समग्र राज्य संयन्त्रको स्थानीय अभिव्यक्तिको रूपमा स्थापित गर्ने उद्देश्य लिएको बताउनुभयो ।
कानुन र आदेशको कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट गर्दै प्रजिअ सेढाइँले “म जे भन्छु, त्यो गर्छु, गर्न नसकिने कुरा पहाड बनाएर भन्न पनि भन्दिन” भन्दै स्पष्ट शैलीमा आफ्नो कार्यपद्धति व्यक्त गर्नुभयो । उहाँले काम ढिलो गर्ने चलन अन्त्य गर्दै “काम नपखौं, गरिहालौं” भन्ने भावनालाई आत्मसात गर्दै सेवा प्रवाहमा गति ल्याउने जनाउनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई मजबुत बनाउँदै समृद्धि, सुशासन र शान्तिको मार्गमा अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले सबै तहका सरकार बीचको समन्वयलाई प्राथमिकता दिने बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा विकास निर्माणमा सहजीकरण र समन्वयमार्फत काम गरिने बताउँदै उहाँले उक्त दिशामा सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
प्रजिअ सेढाइँले पत्रकारिता प्रतिको आफ्नो रुचि र सम्मान व्यक्त गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई विकास पत्रकारितामा लाग्न आग्रह गर्नुभयो । समाज सुधारको सूचकका रूपमा पत्रकारिता रहेको भन्दै उहाँले पत्रकारितालाई विश्वसनीय, प्रभावकारी र सकारात्मक परिवर्तनका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सूचनाको हकलाई पूर्णरूपमा कार्यान्वयन गर्दै सूचना उपलब्ध गराउने विषयमा कुनै कञ्जुस्याइँ नगर्ने प्रतिवद्धता जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय र अन्य सरकारी कार्यालयबीच आवश्यक समन्वय गरिने बताउँदै पारदर्शिता र जवाफदेहिता कायम गरिने प्रजिअ सेडाईले बताउनुभयो । प्रजिअ सेढाइँले आफू विगत २५ वर्षभन्दा बढी समयदेखि निजामती सेवामा आबद्ध रही विभिन्न तहमा सेवा दिएको अनुभवका आधारमा ताप्लेजुङमा विकास र सुशासनको सन्तुलन मार्फत समृद्धिको बाटो पहिल्याउने अठोट लिनुभएको छ । लमजुङ स्थायी घर भएका सेढाइँले जिल्लामा विद्यमान साझा समस्याहरूको पहिचान गरी तिनको व्यवस्थापन र समाधानमा समेत आफू सक्रिय रहने जानकारी दिनुभयो । “विगतमा पनि यहाँ राम्रै ढंगले सेवा प्रवाह भएको थियो, अब त्यो भन्दा कम नहुने, बरु नयाँपन दिनेगरी प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गर्छु,” भन्दै उहाँले सेवाग्राहीको गुनासो नआउने गरी कार्यालय व्यवस्थापनमा निरन्तर ध्यान दिने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
शिवराज सेढाइँको नेतृत्वमा ताप्लेजुङको प्रशासनिक क्षेत्रमा गति, पारदर्शिता, कानुनी कार्यान्वयन र समन्वयमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ । जन उत्तरदायी सेवा प्रवाह, समृद्धिको खाका र सञ्चारमाध्यम सँगको सहकार्यबाट जिल्ला प्रशासनको प्रभावकारिता अझ बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!