काठमाडौं, २२ चैत । अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ भने आइतबार बन्द रहनेछ। सरकारले आइतबार सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार दिनमा परिवर्तन गर्ने तयारी गरेको हो।
नेप्सेका एक सञ्चालकका अनुसार सरकारी विदा अनुसार नै बजार सञ्चालन हुने भएकाले आइतबार कारोबार बन्द गरिनेछ भने शुक्रबार नियमित कारोबार सञ्चालन गरिनेछ। “यसअघि पनि यस्तै अभ्यास गरिएको थियो, त्यसैले शुक्रबार बजार खोल्न कुनै समस्या छैन, आवश्यक प्रक्रिया मात्र पूरा गर्नुपर्छ,” उनले भने।
यसअघि २०७९ जेठ १ गतेदेखि सरकारले शनिबार र आइतबार सार्वजनिक विदा लागू गर्दा नेप्सेले शुक्रबार बजार सञ्चालन गरेको थियो। त्यतिबेला शनिबार र आइतबार बन्द गरी सातामा पाँच दिन नै कारोबार भएको थियो।
यसपटक पनि सातामा पाँच दिन बजार खुल्ने गरी नयाँ व्यवस्था लागू गर्न लागिएको जनाइएको छ। हाल भने शुक्रबार र शनिबार बजार बन्द रहने व्यवस्था छ। आजै बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

