
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २६ साउन । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ‘ताप्लेजुङ गोल्ड कप’ फुटबल प्रतियोगितामा ललितपुरको चर्च ब्वाइज क्लबले सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले भारतको लिजेण्ड फुटबल एकेडेमी, सिलिगुडीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का बनाएको हो । खेलको सुरुवाती १० औं मिनेट मै चर्च व्वाईजका मिडफिल्डर मनिष जर्घाले उत्कृष्ट गोल गर्दै १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थियो । खेलभर उक्त अग्रतालाई कायम राख्न चर्च ब्वाइजले सशक्त रक्षात्मक रणनीति अपनाउदै सो गोललाई जीतको विन्दुमा पु¥यो ।
खेलको पहिलो हाफमै भारतका प्रितम वैद्यले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो, जसले टिमको समग्र प्रदर्शनमा असर पुगेको थियो । एक खेलाडी कम हुँदा पनि भारतले गोल गर्ने प्रयत्न नगरेको होईन । तर, चर्च ब्वाइजको डिफेन्स र गोलरक्षक विश्वास चौधरीको प्रदर्शनले त्यसलाई गोलमा परिणत हुन दिएन ।
म्यान अफ द म्याच चर्च ब्वाइजका गोलकिपर चौधरी
उक्त खेलमा चर्च ब्वाइजका गोलकिपर विश्वास चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए । उनले राम्रो प्रदर्शनका साथ गोलहुनबाट बचाएर टिमलाई क्लीनसिट दिलाए । पुरस्कारस्वरूप उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सेमिफाइनल समिकरण तय हुँदै
सोमबारको जितसँगै चर्च ब्वाइजले बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सुनसरीको ‘द यङ ब्रदर्श क्लब’ सँग प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि नै सुनसरी र झापाको रेडस्टार फुटबल क्लबले प्रतियोगिताको पहिलो चरण पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । यता, मंगलबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमनेसामने भिड्नेछन् । उक्त खेलपछि सेमिफाइनलका खेल सकिने आयोजकले बताएका छन् ।
प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने भएको छ । फाइनल विजेताले आकर्षक सात लाख दुई हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिब टिकेन्द्र नेपालीले जानकारी दिए । त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई पनि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रले सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।