केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २७ साउन । ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सिरहाको सलहेश युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
चारजान विदेशी खेलाडी सहित मैदानमा उत्रिएको सलहेस युवा क्लव सिराहाको तर्फबाट खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सलहेश युवा क्लबले पाँचौं मिनेटमै १ गोल गर्दै खाता खोलेको थियो । क्लबका विदेशी खेलाडी सोदिया आदमले सुरुमा नै गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३५औं मिनेटमा सुजित बुढाथोकीले दोस्रो गोल थप्दा पाँचथरको दबाब अझै बढेको थियो । दुई मिनेटमै युसुफ मलिकले गोल गर्दै स्कोरलाई ३–० बनाए ।
खेलको ४२ औं मिनेटमा पाँचथरका खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि स्कोर ४–० पुग्यो । दोस्रो हाफमा पनि सहलेशले आक्रमण जारी राख्दै खेलको ६६ औं मिनेटमा युसुफ मलिकले व्यक्तिगत दोस्रो तथा टिमको पाँचौं गोल लगाए । अन्ततः मोहित गुरुङले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई ६–० को ऐतिहासिक जित दिलाए । यस जितसँगै सलहेश युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ र अब बिहीबार रेड स्टार फुटबल क्लब, झापासँग भिड्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार हुनेछ, सुनसरीको द यङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष उपविजेता बनेको सलहेश युवा क्लब यसपटक उपाधि उचाल्ने योजनामा रहेको देखिन्छ  । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भइरहेको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका आठ उत्कृष्ट टिमहरूको सहभागिता रहेको छ । फाइनल खेल आगामी शनिबार, साउन ३१ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ७ लाख २ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!