
पूर्वपोष्ट
ताप्लेजुङ, ८ भदौं । ताप्लेजुङमा नेकपा (एमाले) का जिल्ला सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका–२ फुलवारीका वडाध्यक्ष टेकेन्द्र सेन्दाङ माथि भएको सांघातिक आक्रमणप्रति एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले कडा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा सदस्य भट्टराईले आक्रमणमा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकलाई पत्रमार्फत माग गरेका हुन् । उनले गुण्डागर्दी र अराजक गतिविधि कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै, यस्तो किसिमको आपराधिक प्रवृत्ति नियन्त्रण गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सांसद भट्टराईले आक्रमणमा घाइते भएका वडाध्यक्ष सेन्दाङको तत्काल र प्रभावकारी उपचारको माग गर्दै, आवश्यक स्वास्थ्य व्यवस्थाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई पनि घटनाबारे जानकारी गराएका छन् ।
एता, एमाले ताप्लेजुङले घटनाको भत्र्सना गर्दैे आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा एमाले ताप्लेजुङले सेन्दाङ माथिको आक्रमणलाई योजनाबद्ध आपराधिक कार्यको संज्ञा दिएको छ । पार्टीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमूले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाही नगरिए, शान्ति सुव्यवस्था कायम राख्न र बढ्दो अराजकता विरुद्ध पार्टी प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
एमाले ताप्लेजुङ अन्तर्गत रहेका विभिन्न पालिका स्तरीय कमिटीहरूले समेत वडाध्यक्ष सेन्दाङमाथिको आक्रमणको घोर निन्दा गरेका छन् । फुङलिङ नगर कमिटी, फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका कमिटीहरूले दोषी पहिचान गरी कारबाहीको माग गर्दै संयुक्त रुपमा आक्रोश व्यक्त गरेका छन् ।
त्यस्तै, अखिल नेपाल महिला संघ अध्यक्ष रनमाया गुरुङ र राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष मानिक तुम्बाहाम्फे सहितका जनवर्गीय संगठनहरूले समेत घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । ती संगठनहरूले अराजक गतिविधिविरुद्ध कुनै पनि तहमा कठोर कदम चाल्न तयार रहेको जनाएका छन् । एमाले ताप्लेजुङको भनाइ अनुसार, जिल्ला कमिटीको बैठक सकेर घर फर्कन लाग्दा तोक्मेडाँडा क्षेत्रमा सेन्दाङ र एमाले जिल्ला सदस्य मनकुमार तेङबुङमाथि ५ देखि ७ जनाको समूहले पूर्वनियोजित तरिकाले आक्रमण गरेका थिए ।
यो घटनामा गम्भीर घाइते भएका सेन्दाङको प्रारम्भिक उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापा स्थित बिएण्डसी अस्पतालमा रिफर गरिएको बताइएको छ ।