केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ७ असोज । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वार नजिकै नयाँ संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब २०३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो।

करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ। सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए।

यो घण्टी संरचना नियाङ्स निर्माण सेवाले तयार गरेको कम्पनीका प्रोपाइटर निसान लिम्बूले बताए। यो संरचना भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ। यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गर्ने निर्देशक हाम्बाङको भनाइ छ।

गत आर्थिक वर्षमा पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले १६ हजार किलो तौलका पुराना घण्टीहरू लिलामीमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरिएको थियो। तर, विरोधपछि सो प्रक्रिया रद्द गरी अहिलेको नयाँ संरचना निर्माण गरिएको हो।

पाथीभरा मन्दिर पुग्न करिब ५०० मिटर तल रहेको उक्त स्थानमा घण्टीको गेटसमेत निर्माण गरिएको छ। घण्टीको गेटले भक्तजन र पर्यटकहरूको ध्यान खिच्ने गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले बताए। मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस्ता संरचनाहरू निर्माण गरिँदै आएको निर्देशक हाम्बाङले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!