पूर्वपोष्ट
ताप्लेजुङ, २६ पुस । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिम स्थित सिंवा बजारमा पहिलो पटक माघेमेला गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माघे सङ्क्रान्ति तथा ऐतिहासिक माघेनी मेलाको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
शनिबार फुङ्लिङमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले गोल्ड कप सञ्चालनको जानकारी दिएका हुन् । माघेनी मेला यसअघि पनि हुँदै आएको भए पनि गोल्ड कप भने यस वर्षदेखि सुरु गर्न लागिएको मेला सञ्चालन समितिले जनाएको छ । आमन्त्रित प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहनेछ । आयोजक सिंवा स्पोर्टिङ क्लब लिङ्खिम सहित धनकुटा, तेह्रथुम, पाँचथर, झापा र ताप्लेजुङका विभिन्न क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद तीन लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलकर्ता र गोलरक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ ।
मेला अन्तर्गत सांगीतिक साँझ पनि आयोजना हुनेछ । सांगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बू सहित अन्य चर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । जिल्लाको तेस्रो ठूलो बजारका रूपमा परिचित सिंवा बजारको पर्यटन र व्यापार प्रवर्धन गर्ने उद्देश्यले मेला तथा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!