केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ११ फागुन । हिमाली भूगोल र मौसमको चुनौति भएपनि ताप्लेजुङका हिमाली गाउँमा फागुन २१ को निर्वाचन तयारीपुरा गरिएको छ। दुर्गम बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाका मतपेटिका स्थलमार्गबाट ढुवानी कठिन हुने भएपछि हेलिकोप्टर प्रयोग गरि ल्याईने बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ ले हिमपात वा अन्य प्रतिकूल अवस्थाले मतदान प्रभावित नहोस् भन्ने उद्देश्यले हवाई ढुवानीको प्रस्ताव सम्बन्धित निकायमा पठाइएको जानकारी दिए। दुर्गम भौगोलिक अवस्थालाई ध्यानमा राखेर सुरक्षा, यातायात र व्यवस्थापनका संयन्त्र समन्वित रूपमा परिचालन गर्ने तयारी गरिएको उनले बताए। यसअघि सुशीला कार्की को जिल्लाभ्रमणका क्रममा पनि सुरक्षा समितिले यी केन्द्रका मतपेटिका हवाईमार्गबाट ल्याउनुपर्ने अवस्थाबारे अवगत गराएको थियो।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। कार्यस्थल बाहिर खटाइने जनशक्तिको विवरण आवश्यक परे परिमार्जन गरिने प्रशासनको भनाइ छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनराज श्रेष्ठ ले समग्र तयारी सन्तोषजनक रहेको जनाउँदै अस्थायी मतदाताको व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए।
निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल का अनुसार जिल्लामा १ हजार ६ सय ८३ अस्थायी मतदाता रहेका छन्। उनीहरूका लागि किराँतेश्वर मन्दिर परिसर र जिल्ला कारागार परिसर मा मतदान स्थल तोकिएको छ, जहाँबाट समानुपातिकतर्फ मात्र मतदान गर्न पाइनेछ।
आचारसंहिता अनुगमनको अवस्था समेत सन्तोषजनक रहेको सरोकारवाला निकायको निष्कर्ष छ। हिमाली जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक संयन्त्र तयार भइसकेकाले ताप्लेजुङमा निर्वाचन निर्धारित समयमै सम्पन्न हुने विश्वास प्रशासनले व्यक्त गरेको छ।

