पूर्वपोष्ट
ताप्लेजुङ, १९ चैत । पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब २ बजे दोब्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अम्लिसो (कुच्चो) बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो । दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो । उपचारकै क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते भएका छन् । चालक बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

