
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २७ साउन । पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङमा पछिल्ला केही वर्षयता फुटबलप्रति युवाहरुको आकर्षण तीव्र रुपमा बढ्दो छ । विद्यालयदेखि गाउँ स्तरका प्रतियोगितासम्म, फुटबल अब मनोरञ्जन मात्र नभई प्रतिभा प्रदर्शन र भविष्य निर्माणको माध्यम बन्दै गएको छ ।
ताप्लेजुङको फुङलिङ, मेहेले, सिद्धिङवा, दोभान, सिंवा जस्ता क्षेत्रका युवाहरू बिहान बेलुकी खेलमैदानमा भेटिन्छन् । केही वर्षअघिसम्म सीमित मात्रामा हुने फुटबल गतिविधिहरू अहिले गाउँपालिका, वडास्तर र विद्यालयस्तरसम्म फैलिएको छ । विशेषगरी सामाजिक सञ्जालको प्रभाव, स्थानीय क्लबहरूको सक्रियता र राष्ट्रिय खेलाडी बन्ने प्रेरणाले यहाँका युवाहरूलाई फुटबलप्रति झन् नजिक बनाएको छ ।
स्थानीय क्लबहरूको योगदान, दर्शकहरुको माया
ताप्लेजुङमा स्थापित विभिन्न युवा क्लबहरू सर्घष स्पोट्र्स क्लब फुङलिङ, तेल्लोक स्पोटिङ् क्लव तेल्लोक, मानाभरा यूवा क्लव सावादिन, जलजले युवा क्लव साँघु, लगायतले नियमित प्रशिक्षण, लिग प्रतियोगिता तथा अन्तरजिल्ला प्रतियोगितामा सहभागी भई खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । यसले प्रतिभाशाली खेलाडीहरूलाई चिनिने अवसर प्रदान गरेको छ ।
ताप्लेजुङ जिल्लाका कुनैपनि गाउँमा फुटबल प्रतियोगिता भयो भने हजारौंको संख्यामा दर्शकहरु हुने गरेको छन् । अहिले सञ्चालन भईरहेको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा दैनिक ५ हजार भन्दा बढि दर्शकहरु उपस्थीत भएर फुटवलको अवलोकन गरि रहेका छन् । भने फाईनल खेल साउन ३१ गते १५ हजार दर्शक हुने अपेक्षा आयोजक समितिले गरेको छ ।
महिला सहभागिता समेत बढ्दो
रोचक कुरा के छ भने हालै महिला खेलाडीहरूको सहभागिता पनि उल्लेख्य रुपमा बढेको छ । विद्यालयस्तरमै आयोजना हुने छात्रा फुटबल प्रतियोगिताले किशोरीहरूलाई फुटबल खेल्न थप हौसला प्रदान गरिरहेको छ । अभिभावकहरूको सोचमा आएको परिवर्तन र विद्यालयको सहयोगले महिला फुटबलले पनि गति लिएको छ ।
चुनौती र सम्भावना
यद्यपि सुविधासम्पन्न मैदान, खेल सामग्री, प्रशिक्षकको अभाव जस्ता चुनौतीहरू अझै बाँकी छन् । तर, स्थानीय तह, विद्यालय, संघसंस्था तथा युवाहरूको लगनशीलताले यी चुनौतीहरू हटाउने सम्भावना बलियो देखिन्छ । खेल मैदान नभए कै कारण विद्यालयका खेलमैदानमा ठुल–ठुला टुर्नामेन्टहरु भईरहेका छन् । बनाउदै गरेका खेलमैदान अलपत्र आवस्थामा पुगेका छन् ।
उदीयमान प्रतिभा
केही खेलाडीहरू हाल काठमाडौ, धरान, विराटनगर जस्ता स्थानमा गएर प्रशिक्षण लिँने गरेका छन् । तिनीहरू भविष्यमा ताप्लेजुङको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्काउने सम्भावना बोकेका छन् । फुटबललाई माध्यम बनाएर स्वास्थ्य, सामाजिक एकता, र सम्भावनाको बाटोमा अघि बढिरहेको ताप्लेजुङ अब खेलकुदमै पनि छुट्टै पहिचान बनाउने दिशामा अगाडि बढिरहेको देखिन्छ ।