केशवप्रसा भट्टराई
ताप्लेजुङ, १० पुष । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता जङ्गली भालुले भेडाबाख्रा खाँदै निरन्तर आक्रमण गरेपछि सदरमुकाम आसपास गाउँका बासिन्दाहरु आतंकित र त्रसित भएका छन ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार, गत मङ्सिर २८ गतेदेखि भालुले फुङ्लिङ–९ हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भेडाबाख्रा खाएर क्षति पु¥याउन थालेको हो । करिब एक साताको अवधिमा विभिन्न किसानका एक भेडा र सात बाख्रामा भालुले आक्रमण गरेको छ भने तीनवटा बाख्रामा चोट पनि पुगेको थियो ।
तर, मङ्गलबार रातिदेखि भालुको गतिविधि वडा १० फुरुम्बुमा सरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भालुले फुरुम्बुमा तीनवटा बाख्रा खाइसकेको बताए । स्थानीय किसान मनिराज गुरुङ र पोष्टबहादुर कार्कीका बाख्रामा राति आक्रमण भएको बताइएको छ ।
स्थानीय वासीले जनाएका अनुसार, भालुले खोरमा राखिएका बाख्रामा पनि आक्रमण गर्दै आएको छ । निरन्तर सर्दै जाने भालुको गतिविधिले किसानलाई रातभर जाग्राम बस्न बाध्य बनाएको छ । यसबीच, डिभिजन वन कार्यालयको अगुवाइमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा सामुदायिक वन प्रतिनिधि, प्रहरी र स्थानीय जनप्रतिनिधि सहभागी थिए । भालु नियन्त्रणको लागि बुङ्कुलुङ धुपौरेमा फलामे रडले बनाइएको पासो समेत राखिएको छ । स्थानीयवासीहरूले भालुले केवल पशुचौपाया मात्र नभई मानिसमाथि पनि आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउन थालेका छन् । किसानहरूले प्रभावकारी नियन्त्रण उपायको खोजी गर्नुपर्ने मागसमेत उठाएका छन् ।


