पूर्वपाेष्ट
ताप्लेजुङ, २७ माघ । नाै स्थानीय तहबीच भएको प्रतिस्पर्धामा मैवाखोलाले २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदक जित्दै पहिलो स्थान सुरक्षित गर्‍यो। खेलमैदानमा सुरुदेखि नै बलियो उपस्थिति देखाएको मैवाखोला पदक तालिकामा स्पष्ट अग्रता कायम गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश) बताउनुहुन्छ।

उपाधि दौडमा आठराई त्रिवेणी गाउँपालिका नजिकैको प्रतिस्पर्धी बन्यो। १३ स्वर्ण, १३ रजत र २१ कास्यसहित ४७ पदक जित्दै आठराई त्रिवेणी दोस्रो स्थानमा रह्यो। फुङ्लिङ नगरपालिकाले ११ स्वर्ण, आठ रजत र २३ कास्य गरी ४२ पदक जित्दै तेस्रो स्थान ओगट्यो।

सिदिङ्वा गाउँपालिका नौ स्वर्णसहित ३७ पदक जित्दै चौथो स्थानमा रहँदा मेरिङ्देन गाउँपालिकाले १५ पदकसहित पाँचौं स्थान बनायो। मिक्वाखोला गाउँपालिकाले २५ पदक जितेर छैटौं स्थान हासिल गर्‍यो। सिरिजङ्घा गाउँपालिका सातौं र पाथीभरा याङ्वरक गाउँपालिका आठौं स्थानमा सीमित भए भने फक्ताङ्लुङ गाउँपालिका पदकविहीन रह्यो।

भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते र तेक्वान्दोलगायत विधामा ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य गरी कुल २३४ पदकका लागि प्रतिस्पर्धा भएको थियो। खेल मैदानमा विद्यार्थीहरूको ऊर्जा र स्थानीय दर्शकको उत्साहले प्रतियोगितालाई थप जीवन्त बनाएको थियो।

समापन समारोहमा सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लिम्बू लगायतले विजेता खेलाडीलाई शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो।

शुक्रबारबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। पछिल्ला वर्षहरूमा सदरमुकामबाहिर स्थानीय तहमा खेलकुद गतिविधि विस्तार गर्ने प्रयासअनुसार आगामी वर्षको प्रतियोगिता पाथीभरा याङ्वरक गाउँपालिकामा आयोजना गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!