केशवप्रसाद भट्टराई
ताप्लेजुङ २ मंसिर । नयाँ अन्नबाली भित्याएपछि प्रकृति, पुर्खा र देवीदेवतालाई चढाएर मात्र खो परम्परालाई निरन्तरता दिदैं ताप्लेजुङ सहित पूर्वी नेपालका किरात समुदायदे चासोक तङ्नाम (उँधौली पर्व) मनाउने गर्दछन् । मंसिर पूर्णिमाका दिन मनाईने यो पर्व किरात समुदायको कृषि जीवनशैली मुन्धुमी दर्शन, प्रकृतिप्रतिको सम्मान र साँस्कृतिक पहिचारसँग जोडिएको छ ।
ताप्लेजुङ लिम्बु अर्थात याक्थुङ समुदायको ऐतिहसिक थातथलो समेत भएकाले यहाँ चासोक तङ्नामको विशेष साँस्कृतिक महत्व छ । जिल्लामा लिम्बू समुदयले चासोक तङ्नाम, राईले साकेला वा साकेन्वा, याक्खाले चासुवा र सुनिवारले फोलस्याँदरका रुपमा उँधौली मनाउने परम्परा छ । समुदाय र भाषिक समुहअनुसार नाम तथा पूजाविधि फरक भएपनि नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गुर्न पुर्खालाई सम्झनु र प्राकृतिको सम्मान गर्नु पर्वको साझा विशेषता हो ।
लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा चासोक तङ्नामको उत्पत्तिसम्बन्धी विभिन्न आख्यान पाइन्छन् । मुन्धुमी विश्वास अनुसार सर्वशक्तिमान् तागेरा निङ्वाफुमाङको कृपाबाट मानवजातिले अन्नबालीको ज्ञान र बीउबिजन प्राप्त गरेको भन्ने मान्यता छ । आदिम पुर्खा सावा येत्हाङ र खेतीपातीको ज्ञानसँग जोडिएका सिकेरा याक्थुङ्माजस्ता पात्रका कथाले पनि यस पर्वको सांस्कृतिक आधार व्याख्या गर्छन् ।
परम्परागत विश्वास अनुसार मानवजातिले अन्न उत्पादन गर्न सिकेपछि नयाँ अन्न आफूले खानुअघि माङलाई चढाउने चलन सुरु भएको हो । त्यसैले चासोकको अर्थ न्वागी अर्थात् नयाँ अन्न चढाउने र तङ्नामको अर्थ उत्सव वा पर्वका रूपमा बुझिन्छ । धान, कोदो, मकै, गहुँ, मास, मस्याङलगायत नयाँ उत्पादनको केही अंश घरका कुलदेवता, पुर्खा र प्रकृतिलाई चढाएर मात्र खाने चलन छ । चासोक पूजामा लिम्बू समुदायले तागेरा निङ्वाफुमाङसँगै युमा, थेबा, काप्पोबा, थुङ्दाङ्बालगायत घरभित्र पुजिने देवीदेवताको आराधना गर्छन् । अन्नबाली उत्पादन, संरक्षण र परिवारको सुखशान्तिसँग जोडिएका माङहरूको स्मरण गर्दै मुन्धुम वाचन गर्ने परम्परा छ । कतिपय स्थानमा फेदाङ्मा, साम्बा तथा येबा–येमाको सहभागितामा परम्परागत विधिअनुसार पूजा तथा अनुष्ठान गरिन्छ ।
चासोक तङ्नाम केवल अन्न चढाउने पर्व मात्र होइन, प्रकृति र मानव जीवनबीचको सम्बन्ध सम्झाउने अवसर पनि हो । भूमि, जल, वनजङ्गल, खोलानाला, हिमाल, सूर्य, चन्द्रमा र जीवजन्तुप्रति सम्मान व्यक्त गर्नु यसको मुन्धुमी दर्शनको महत्वपूर्ण पक्ष हो । किरात समुदायभित्रै पनि उँधौली मनाउने तरिका फरक–फरक छन् । राई समुदायले आदिम पुर्खा पारुहाङ र सुम्निमालाई स्मरण गर्दै साकेला वा साकेन्वा नाच्ने गर्छन् । उनीहरूको नाचमा खेतीपाती सुरु गर्ने, जमिन खन्ने, बीउ छर्ने, बाली गोडमेल गर्ने, अन्न भित्र्याउने तथा पुर्खाको जीवनशैली झल्काउने हाउभाउ प्रस्तुत गरिन्छ ।
यस पर्वमा लिम्बू समुदायको केलाङ (च्याब्रुङ नाच), यालाङ (धान नाच), पालाम तथा हाक्पारेजस्ता मौलिक सांस्कृतिक प्रस्तुति विशेष आकर्षण हुन्छन् । परम्परागत भेषभूषामा सजिएर आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने र विभिन्न परिकार बनाएर खाने चलन छ । पक्लुङ लेप्मा अर्थात् छेलो हान्ने खेल पनि चासोक तङ्नामको अर्को मौलिक आकर्षण हो । मुन्धुममा वर्णित कतिपय संस्कारले युवायुवतीको जीवनचक्र, सामाजिक सम्बन्ध र सामुदायिक एकतालाई समेत जोड्ने गरेका छन् । फुङवा चाङमा र चाङवान् लेक्माजस्ता परम्परागत सांस्कृतिक कर्मलाई नयाँ पुस्ताको जीवन र सामाजिक परिपक्वतासँग जोडेर व्याख्या गरिन्छ ।
उँधौली पर्वको अर्को महत्वपूर्ण पक्ष ऋतु परिवर्तन र पशुपालनसँग जोडिएको छ । मङ्सिर पूर्णिमापछि जाडो बढ्दै जाने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका चौँरी, भेडा र गाईवस्तुका गोठ लेकबाट बेंसीतर्फ सार्ने गरिन्छ । हिउँदमा पशुचौपायालाई चिसो र हिमपातबाट जोगाउँदै सुरक्षित स्थानमा झार्ने परम्परासँग पनि उँधौली जोडिएको छ । यसले किरात समुदायको पर्व कृषि उत्पादनमा मात्र नभई प्रकृति र मौसम अनुसार जीवनशैली सञ्चालन गर्ने ज्ञानसँग समेत सम्बन्धित रहेको देखाउँछ । पछिल्लो समय ताप्लेजुङमा चासोक तङ्नाम पारिवारिक पूजामा मात्र सीमित छैन । सामूहिक पूजा, सांस्कृतिक झाँकी, ¥याली, नाचगान, खेलकुद र शुभकामना आदानप्रदानका कार्यक्रमसहित सार्वजनिक रूपमा मनाउने क्रम बढेको छ ।
सदरमुकाम फुङलिङमा लिम्बू, राई, सुनुवारलगायत समुदायले सामूहिक रूपमा उँधौली मनाउँदै आएका छन् । २०८३ मङ्सिर १ गते फुङलिङमा झाँकी प्रदर्शन, ¥याली तथा शुभकामना आदानप्रदान सहित चासोक तङ्नाम मनाईयो । याक्थुम चुम्लुङ जिल्ला शाखा ताप्लेजुङले अयोजना गरेको याक्थुङ तङ्नाम कर्याक्रम भब्यरुपमा मनाईएको छ । जानुईन होटकलको प्राङ्गडमा सञ्चलन भएको सो कर्यक्रममा धान नाच, च्याबु्रङ चान लगयतका कर्याक्रम संचालन गरिएको छ ।
ताप्लेजुङका मुन्धुमी स्थल र त्यहाँ प्रचलित अमूर्त सांस्कृतिक परम्पराबारे शैक्षिक अध्ययन समेत भएको छ । भूपालकुमार सेन्दाङको सन् २०२३ मा प्रकाशित अध्ययनले जिल्लाका मुन्धुमी स्थलमा प्रचलित सांस्कृतिक परम्परालाई अभिलेखीकरण गरेको छ । यसले ताप्लेजुङको सांस्कृतिक सम्पदा र मुन्धुमी परम्पराको अध्ययन तथा संरक्षणको महत्वलाई पनि उजागर गर्छ । भाषा, भेषभूषा, संस्कार, संस्कृति र मुन्धुम नै समुदायको ऐतिहासिक पहिचानका आधार हुन् । आधुनिक जीवनशैली र बसाइँसराइका कारण परम्परागत संस्कार नयाँ पुस्ताबाट टाढिँदै गएको अवस्थामा चासोक तङ्नामजस्ता पर्वले पुर्खाको ज्ञान, मौलिक संस्कृति र सामाजिक सम्बन्धलाई पुस्तान्तरण गर्ने अवसर प्रदान गर्छन् । त्यसैले यो पर्व किरात समुदायको धार्मिक आस्थासँगै कृषि सभ्यता, प्रकृतिप्रतिको कृतज्ञता र सांस्कृतिक अस्तित्व जोगाउने उत्सवका रूपमा रहेको कङ्लीवाले बताए ।
