केशवप्रसाद भट्टराई
ताप्लेजुङ, जेठ २४ गते । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार आयोजनाको समर्थनमा शनिबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बृहत् र्‍याली आयोजना गरिएको छ। स्थानीयवासी, व्यवसायी, पर्यटन क्षेत्रसँग आबद्ध व्यक्तित्व, युवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको उक्त र्‍यालीमार्फत केबलकार निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गरिएको हो।

र्‍याली फुङलिङ बजारस्थित वीरेन्द्र चोकबाट सुरु भई बजार क्षेत्रको परिक्रमा गर्दै तोक्मेसम्म पुगेको थियो। त्यसपछि पुनः वीरेन्द्र चोकमा फर्किएर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले विकास निर्माणका कामलाई अवरोध नगर्न, पर्यटन प्रवर्द्धनका योजनालाई तीव्रता दिन तथा जिल्लाको आर्थिक समृद्धिका लागि केबलकार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका थिए।

कोणसभालाई सम्बोधन गर्दै फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले विकास निर्माणका योजनाहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले जिल्लाको समग्र विकास र आर्थिक उन्नतिका लागि ठूला पूर्वाधार आयोजना आवश्यक रहेको उल्लेख गर्दै विकासका योजनाको विरोध गरेर मात्र जिल्लाको भविष्य निर्माण हुन नसक्ने बताए।

“हामीले विकास र वातावरणबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्छ। संवादबाट समाधान खोज्न सकिन्छ, तर विकासका योजनालाई पूर्ण रूपमा रोक्नु उचित हुँदैन,” मेयर मादेनले भने।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तथा व्यवसायी तारानाथ घिमिरेले केबलकार सञ्चालनमा आएपछि जिल्लाको आर्थिक गतिविधिमा व्यापक सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनका अनुसार केबलकार निर्माणपछि होटल व्यवसाय, यातायात सेवा, कृषि उत्पादन, हस्तकला तथा स्थानीय उत्पादनको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ।

“पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री तथा पर्यटकको संख्या बढ्नेछ। यसले स्थानीय व्यवसायी, किसान, यातायात व्यवसायी र सेवा क्षेत्र सबैलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ,” घिमिरेले बताए। उनले पर्यटनलाई जिल्लाको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न केबलकार आयोजना महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

पाथीभरा मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक मानिन्छ। प्रत्येक वर्ष नेपालका विभिन्न जिल्लासहित भारतका सिक्किम, पश्चिम बंगाल तथा अन्य क्षेत्रबाट हजारौं भक्तजन दर्शनका लागि यहाँ पुग्ने गर्छन्। केबलकार निर्माण भएपछि धार्मिक पर्यटनसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

पाथीभरा केबलकार आयोजना केही समययता समर्थन र विरोध दुवै पक्षको बहसको केन्द्रमा रहेको छ। समर्थकहरूले यसलाई विकास, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणसँग जोडेर हेरेका छन् भने विरोधी पक्षले वातावरणीय, सांस्कृतिक तथा स्थानीय समुदायका सरोकारका विषय उठाउँदै आएका छन्। यसबीच शनिबार आयोजित र्‍यालीले आयोजनाको पक्षमा स्थानीय तहमा समर्थन रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय