गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखुमा आयोजित गाउँसभामा उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटअनुसार गाउँपालिकाले आन्तरिक स्रोत, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र राजस्व बाँडफाँडलाई आयको प्रमुख आधार बनाएको छ।
बजेटमा आन्तरिक आय तथा बैंक मौज्दातसहित आठ करोड ९४ लाख १३ हजार १०५ रुपैयाँ समावेश गरिएको छ। त्यसैगरी सङ्घीय वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ५१ लाख रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँडबाट आठ करोड ५४ लाख दुई हजार रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदानबाट ९२ लाख ९४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश राजस्व बाँडफाँडबाट ६१ लाख ९३ हजार ८९५ रुपैयाँ, रोयल्टी बाँडफाँडबाट एक लाख ५० हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट छ लाख रुपैयाँ प्राप्त हुने व्यवस्था गरिएको छ।
यस्तै, सङ्घीय सरकारको सशर्त अनुदान २० करोड ७४ लाख रुपैयाँ, नेपाल सरकारको समपूरक अनुदान ८० लाख रुपैयाँ, सङ्घीय विशेष अनुदान एक करोड रुपैयाँ तथा प्रदेश सरकारको सशर्त अनुदान ९२ लाख ७३ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुलको ५० प्रतिशत रकम गाउँपालिकाले नै व्यहोर्ने नीति लिएको छ।
गाउँपालिका अध्यक्ष मानबहादुर राईले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक घर, एक करेसाबारी, प्राङ्गारिक तरकारी’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। उहाँले स्थानीय कृषकलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न किसानमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
आगामी वर्ष सडक, भवन, सिँचाइ, खानेपानी लगायतका पूर्वाधार विकासका योजना अघि बढाइने साथै कृषि क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले बताउनुभयो।
ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ।
