केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ८ असार । मैवाखोला गाउँपालिकाले किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको ‘एक घर–एक फलफूल बगैँचा विकास कार्यक्रम’ अन्तर्गत ५ हजार २ सय २० वटा फलफूलका बिरुवा वितरण गरेको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ८ लाख रुपैयाँ बजेटबाट कार्यक्रम सञ्चालन गर्दै ६७ घरधुरीका किसानलाई प्रति घर ६० बोटका दरले ४ हजार २० वटा सुन्तलाका बिरुवा वितरण गरेको हो। यस्तै, १२ घरधुरीलाई प्रति घर १०० बोटका दरले १ हजार २ सय वटा एभोकाडोका बिरुवा प्रदान गरिएको छ। यससँगै कार्यक्रमअन्तर्गत कुल ५ हजार २ सय २० वटा बिरुवा किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
यसअघि पनि गाउँपालिकाले यही कार्यक्रमअन्तर्गत हिउँदे मौसममा २ हजार वटा किवी ९की।बि।० का बिरुवा वितरण गरेको थियो। फलफूल खेतीको विस्तारमार्फत किसानलाई वैकल्पिक आम्दानीको स्रोतसँग जोड्ने र व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको भनाइ छ।
बिरुवा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले वितरण गरिएका बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन किसानलाई आग्रह गरे। बिरुवा राम्रोसँग रोपेर नियमित मलजल र स्याहार–सुसार गर्न सके फलफूल खेतीबाटै राम्रो आम्दानी लिन सकिने उनले बताए।
“किसान दाजुभाइ–दिदीबहिनीहरूले बिरुवा राम्रोसँग रोप्नुहोस्, हुर्काउनुहोस् र नियमित मलजल गर्नुहोस्,” अध्यक्ष वनेमले भने, “फलफूल खेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सके यसले घरपरिवारको आम्दानी बढाउनुका साथै गाउँपालिकाको कृषि अर्थतन्त्रलाई समेत टेवा पुर्याउँछ।”
मैवाखोला गाउँपालिकाले आगामी वर्षहरूमा पनि व्यावसायिक फलफूल खेती विस्तार गर्दै किसानको उत्पादन र आयआर्जन बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
