केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ९ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत दलित तथा अति विपन्न परिवारका करिब एक हजार घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने घोषणा गरेको छ । आर्थिक रूपमा कमजोर नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित गाउँपालिकाले ‘अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’ अघि सारेको हो । यही कार्यक्रमलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले ४३ करोड ६१ लाख ३४ हजार ८० रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष कमलकुमारी लिम्बूले बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी तथा अन्य स्रोतलाई समेटिएको छ । संघीय वित्तीय समानीकरण अनुदानबाट ९ करोड ५३ लाख रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदानबाट ८४ लाख ८९ हजार रुपैयाँ, संघीय सशर्त अनुदानबाट १६ करोड ४४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै संघीय राजस्व बाँडफाँडबाट ७ करोड ५३ लाख ५८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ५३ लाख ४६ हजार ३४४ रुपैयाँ, विशेष अनुदानबाट १ करोड ६० लाख रुपैयाँ तथा समपूरक अनुदान, गैरसरकारी संस्थाको सहयोग र अन्य शीर्षकबाट समेत स्रोत जुटाउने भएको छ ।
गाउँपालिकाले आगामी वर्ष आन्तरिक आम्दानी ६ करोड ७२ लाख ७ हजार ५६३ रुपैयाँ पुग्ने लक्ष्य लिएको छ । यसअघि जेठ २७ गते नै गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको मैवा खोला ताप्लेजुङका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिले नीति तथा कार्यक्रम स्वीकृत गर्ने पालिका बनेको थियो । त्यसको निरन्तरतास्वरूप असार ९ गते बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकास वनेमले अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दलित र अति विपन्न करिब एक हजार घरधुरीका सदस्यहरूको स्वास्थ्य बिमाको प्रिमियम गाउँपालिकाले नै जानकारीदिए । यसबाट उपचार खर्च धान्न कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्नुका साथै आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास गाउँपालिकाले लिएको छ ।
