केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १७ भदौ । सुशन जबेगुको निर्णायक गोलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा फिदिमले झापा–११ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फिदिमका लागि सुशनले पहिलो हाफमै निर्णायक गोल गरे । उनले खेलको ३४औँ मिनेटमा गरेको गोल नै फिदिमको जितका लागि पर्याप्त बन्यो ।
गोल खाएपछि झापा–११ ले खेलमा फर्किन निरन्तर प्रयास गरेको थियो । दोस्रो हाफमा झापाले आक्रमण बढाउँदै गोलका अवसर सिर्जना गरे पनि फिदिमको रक्षापंक्ति तोड्न सकेन । अन्ततः सुशनको एक गोल नै फिदिमलाई फाइनल पुर्याउने आधार बन्यो ।
फिदिमको जितमा प्रभावशाली प्रदर्शन गरेका मिराक खजुम खेलको म्यान अफ द म्याच घोषित भए ।
अब फिदिमले उपाधिका लागि साविक विजेता सिराहाको सलहेस युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सलहेसले मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङपोङलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार उपाधि विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । टिकट काटेर खेल हेर्ने दर्शकमध्येबाट भाग्यशाली एक जनालाई स्कुटरसमेत पुरस्कार दिइने आयोजकले जनाएको छ ।
लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । गोल्डकप फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।
