पूर्वपोष्ट
ताप्लेजुङ, १८ भदौ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब बिच भिडन्त हुने भएको छ । शुक्रबार फुङलिङ स्थित भानुजन माध्यमिक विद्यालयको मैदानमा हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
फाइनल खेलेको अघिल्लो दिन अर्थात विहिबार आयोजक लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधिका लागि तयार रहेको बताए । गत बर्ष समेत विजेता बनेको सलहेस लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ ।
सलहेसका मुख्य प्रशिक्षक राजीवकुमार यादवले फिदिमविरुद्ध आफ्नो टोलीले २–० वा २–१ को नतिजामा खेल आफ्नो पक्षमा जीतहासिल गर्ने समेत बताए । सलहेसले क्वार्टरफाइनलमा सातदोबाटो फुटबल क्लबलाई टाइब्रेकरमा हराएको थियो । सेमिफाइनलमा भारतको कालिम्पोङ स्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
यता फिदिम स्पोर्टिङ क्लब भने पहिलोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा पुगेको हो । यसअघिका संस्करणमा सेमिफाइनल भन्दा अघि बढ्न नसकेको फिदिमले यसपटक उपाधि जितेर इतिहास बनाउने लक्ष्य राखेको छ । फिदिमका मुख्य प्रशिक्षक उपेन्द्र श्रेष्ठले सलहेसलाई कम्तीमा १–० ले हराएर उपाधि जित्ने दाबी गरे । क्वार्टरफाइनलमा चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराएको फिदिमले सेमिफाइनलमा बलियो झापा–११ लाई १–० ले पराजित गरेको थियो ।
आयुष घलान, देवेन्द्र तामाङ, सुमित श्रेष्ठ र आरोन थापाजस्ता खेलाडी रहेको झापा–११ लाई हराएर फाइनल पुगेकाले फिदिमका खेलाडीको मनोबल उच्च छ । प्रशिक्षक श्रेष्ठले क्वार्टरफाइनल र सेमिफाइनलमा जित दिलाउने टोलीलाई नै फाइनलमा उतार्ने तयारी रहेको बताए । फिदिमका कप्तान अनुकेश शेर्माले पहिलोपटक फाइनल पुगेको टोली उपाधि जित्न उत्साहित रहेको बताए ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेकाले उपाधि भिडन्त रोमाञ्चक हुने बताए । उनले फाइनल खेल हेर्न दर्शकलाई मैदानमा उपस्थित हुन समेत आग्रह गरे । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ ।
लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा आठ टोली सहभागी छन्। भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल शुक्रबारसँगै सम्पन्न हुनेछ ।
