केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ११ चैत । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ र ६ फाकुम्बा जोड्ने नेरुवा खोलामा निर्माणाधीन मोटरेवल पुल बेमौसमी वर्षापछि आएको बाढीले भत्काएको छ । मंगलबार साँझ परेको वर्षापछि खोलामा आएको बाढीले पुलको टेका (स्काफोल्डर) बगाएपछि करिब अन्तिम चरणमा पुगेको संरचना ढलेको हो ।
पूर्वाधार विकास कार्यालय ताप्लेजुङ मार्फत निर्माण भइरहेको उक्त पुल ३५ मिटर लम्बाइको प्रि–स्ट्रेस प्रविधिमा आधारित ढलाइ गरिएको संरचना हो । निर्माणको अन्तिम चरणमा पुगेको पुल यसरी भत्किएपछि पुनः भत्काएर निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर कुमार कुसलय कर्णले जानकारी दिए । करिब ९ करोड रुपैयाँ लागतको उक्त पुल सञ्जिव निर्माण सेवा, फिदिम–५ पाँचथरले निर्माण गरिरहेको थियो । चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पुल अब पुनः निर्माण गर्नुपर्ने भएपछि निर्धारित समयसीमा प्रभावित हुने देखिएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार चैत महिनामा यसरी वर्षा हुनु र त्यसले निर्माणाधीन पुल बगाउनु असामान्य घटना हो । मौसम परिवर्तनको प्रभावका कारण यस्ता बेमौसमी वर्षा बढ्दै गएको विज्ञहरूको भनाइ छ । पुल भत्किएसँगै दोभान–फुङ्लिङ जोड्ने तिर्तिरे–खार्ते–फाकुम्बा–साम्तोङ–सिन्धोलुङ झरना सडकखण्डमा वर्षायाममा हुने आवतजावत प्रभावित हुने भएको छ । मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पुल निर्माणपछि वर्षभरि यातायात सञ्चालन हुने अपेक्षा गरिएको थियो । तर, पुल भत्किँदा फाकुम्बा क्षेत्रका बासिन्दाले फेरि पनि वर्षायाममा यातायातबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । हिउँदमा खोलामा पानी घट्ने भएकाले अस्थायी रूपमा सवारी सञ्चालन सम्भव भए पनि बर्खामा नेरुवा खोलामा पानी बढ्ने हुँदा पुल अभावमा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको छ ।


