पूर्वपोष्ट
ताप्लेजुङ, १४ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ताप्लेजुङले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
जिल्ला कार्यालय ताप्लेजुङद्वारा जारी प्रेस विज्ञप्तिमा हालै सरकारद्वारा गरिएको उक्त कदमलाई “प्रतिशोधपूर्ण, असंवैधानिक र लोकतन्त्रविरोधी” कार्यको संज्ञा दिइएको छ। विज्ञप्तिमा २०८२ फागुन २३ र २४ गतेको जनआन्दोलनलाई आधार बनाएर गठित सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा एमाले नेतृत्वलाई लक्षित गरेको आरोप लगाइएको छ।
एमाले ताप्लेजुङले उक्त घटनालाई कम्युनिष्ट आन्दोलनमाथिको आक्रमण र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै तत्काल पक्राउ परेका नेताहरूलाई बिना शर्त रिहा गर्न माग गरेको छ। साथै, यस्ता गतिविधि बन्द नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ।
विज्ञप्तिमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सरकारको “दमनकारी कदम” विरुद्ध एकजुट भएर संघर्षमा उत्रन आह्वान गरिएको छ।
उक्त प्रेस विज्ञप्ति एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमूको हस्ताक्षरमा जारी गरिएको हो।


