कञ्चनजंघा ट्रेल सुनसान, पर्यटक हराउँदा हिमाली भेगको व्यवसाय धाराशायी

केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १६ चैत्र । पर्यटकीय सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा भएको निरन्तर हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित बनेको छ। सामान्यतः यही समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने भए पनि यसपटक मौसम प्रतिकूल बन्दा पर्यटक आगमनमा उल्लेख्य कमी आएको स्थानीय व्यवसायीहरू बताउँछन् ।

सिजन सुरु भएसँगै कञ्चनजंघा क्षेत्रले पर्यटकको पाइला पर्खिरहेको छ । तर, यसपटक आकाशले साथ दिएन। केही दिनयता परेको निरन्तर हिमपातले संसारकै आकर्षक पदमार्गमध्ये एक कञ्चनजंघा ट्रेललाई सेताम्मे बनायो, र त्यही सेताम्मेपनले यहाँको जीवनयापनलाई नै समस्या बनाईरहेको छ ।

लोनाक जहाँ सिजनमा विदेशी पदयात्रीको घुइँचो लाग्ने गर्छ अहिले शान्त छ। होटलका ढोका खुलेका छन् । तर, पाहुना छैनन् ।भान्सामा आगो बल्छ, तर पकाउने मान्छे आफैंका लागि मात्रै। कोरोनाको समयमा बाहेक यो ‘सिजनमा यति सुनसान कहिल्यै भएको थिएन,लोनार्क क्षेत्रमा होटल गरिबसका स्थानीय होटल व्यवसायी सेराप शेर्पा बताए र उनले ‘हिउँ परेपछि बाटो नै हरायो, पर्यटक आउन समस्या भयो ।’ घुुन्सा, खम्बाचेनक्याप जस्ता पर्यटकीय गाउँहरू पनि सुनसान छन् ।

सामान्यतया यो समय गाइड, पोर्टर, होटल व्यवसायी सबै व्यस्त हुने बेला हो। तर अहिले उनीहरू हात बाँधेर मौसम खुल्ने प्रतीक्षामा छन् । हिउँले ढाकिएका पदमार्ग, चिप्ला उकालो र अनिश्चित मौसमले ट्रेकिङलाई जोखिमपूर्ण बनाएको छ।

लोनाक वरिपरिका हिमालहरू-घ्याङ पिक, धिमी गिल्ला, १५ पिक, नेपाल पिक, टुइन्स पिक, किरात चुली, पाथीभरा पिक, जनकचुली-सबै सेताम्मे छन् ।दृश्य स्वर्गजस्तै लाग्छ, तर त्यही सौन्दर्य अहिले यहाँका बासिन्दाका लागि चुनौती बनेको छ। आकाश नीलो भए पनि जमिनको हिउँले जीवन कठोर बनाएको छ।पर्यटनमा निर्भर यस क्षेत्रका लागि सिजन भनेकै आम्दानीको समय हो। यही समयमा भएको अवरोधले वर्षभरको आयमा प्रत्यक्ष असर पार्ने देखिन्छ। ‘एक हप्ता यस्तै भयो भने वर्षभरकै कमाइ गुम्छ’व्यवसायीको चिन्ता छ ।

आईतबार देखि केही मैसम खुलेको छ । तर, हिमालको मौसम अनिश्चित हुन्छ भन्ने कुरा नयाँ होइन। तर सिजनकै मुखमा परेको यस्तो हिमपातले स्थानीय अर्थतन्त्रलाई झस्काइदिएको छ। अहिले यहाँका बासिन्दा आकाशतिर हेर्छन् । घाम लागोस्, बाटो खुलोस, र फेरि मानिसका पाइला फर्कून् भन्ने आशामा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!