पूर्वपोष्ट
ताप्लेजुङ, १३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन आफ्नो नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्।
बालेनकै शब्द, संगीत र स्वरमा तयार भएको उक्त गीतमा उनले र्याप शैली पनि प्रस्तुत गरेका छन्। गीतको स्थायीमा ‘जय महाकाली, आयो गोर्खाली, विश्व जित्छिन् यसपाली, डराउँदैन यसपाली’ तथा ‘हात–हातमा राँको बाली फैलिन्छ यो नेपाली’ जस्ता शब्द समेटिएका छन्, जसले देशभक्ति र सांस्कृतिक भावना झल्काउँछन्।
गीतको भिडियोमा उनका चुनावी अभियानका विभिन्न क्लिपहरू समेटिएका छन्। भिडियोमार्फत उनले ‘यो पाली घर–घरमा खुशी पुग्नेछ’ भन्ने प्रणसमेत व्यक्त गरेका छन्।
गीतमा किरण बरालले फ्लुट बजाएका छन् भने नेपसेकमा रेकर्ड गरिएको यस गीतको संगीत फोर्सिल/क्रोनिक बिजले निर्माण गरेका हुन्। भिडियो सम्पादन बिकेश मगरले गरेका छन्।
सार्वजनिक भएको ११ घण्टामा २१ लाखले बढीले गीत हेरिसकेका छन्। सामाजिक सञ्जालमा गीतले तीव्र चर्चा पाएको छ भने बालेनको राजनीतिक जिम्मेवारीसँगै सांगीतिक उपस्थिति पनि एकसाथ अघि बढिरहेको टिप्पणी गरिएको छ।


