पूर्वपोष्ट

ताप्लेजुङ ।  पाथीभरा याङवरक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५२ करोड ८० लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनमाया गुरुङले बजेट प्रस्तुत गर्दै स्थानीय पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता, कृषि उत्पादन वृद्धि तथा सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

गाउँपालिका अध्यक्ष केशर सुब्बाको अनुमतिमा प्रस्तुत बजेटअनुसार पालिकाको आय स्रोतमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानको हिस्सा सबैभन्दा बढी रहेको छ। कुल बजेटमध्ये संघीय समानीकरण अनुदानतर्फ १० करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ भने संघीय सशर्त अनुदान चालुतर्फ १९ करोड ६२ लाख रुपैयाँ र पुँजीगततर्फ एक करोड तीन लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी संघीय विशेष अनुदान चालुतर्फ एक करोड ८० लाख रुपैयाँ र संघीय समपूरक अनुदान पुँजीगततर्फ दुई करोड ५२ लाख रुपैयाँ समावेश गरिएको छ। संघीय राजस्व बाँडफाँडबाट सात करोड २० लाख दुई हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारबाट प्राप्त हुने स्रोतअन्तर्गत समानीकरण अनुदान ९६ लाख १६ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ ५१ लाख ६७ हजार रुपैयाँ तथा पुँजीगततर्फ ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै प्रदेश समपूरक अनुदान पुँजीगततर्फ एक करोड ६० लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट ५६ लाख ५८ हजार ३८३ रुपैयाँ प्राप्त हुने अनुमान छ।

पालिकाले आन्तरिक स्रोत परिचालनलाई समेत प्राथमिकता दिएको छ। आन्तरिक आम्दानीबाट ३२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ भने गत वर्षको मौज्दात रकमबाट पाँच करोड ७९ लाख ५५ हजार ६१७ रुपैयाँ बजेटमा समावेश गरिएको छ। घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट दुई लाख रुपैयाँ तथा विभिन्न रोयल्टीबाट २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत विकास निर्माणका कार्यलाई तीव्रता दिनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय