पूर्वपोष्ट

ताप्लेजुङ | ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पूर्वाधार विकास, सडक सञ्जाल विस्तार र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट ल्याएको हो।

गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर) को अनुमतिमा उपाध्यक्ष दुर्गा चोङ्बाङले गाउँसभाको १९औँ बजेट अधिवेशनमा बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ७७ लाख ९० हजार ७४३ रुपैयाँ र पुँजीगत खर्चतर्फ १३ करोड ६४ लाख ३४ हजार १४० रुपैयाँ विनियोजन गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडाका लागि चालु खर्चतर्फ चार लाख रुपैयाँका दरले बजेट व्यवस्था गरेको छ। यस्तै, पुँजीगततर्फ प्रत्येक वडालाई न्यूनतम ६५ लाख रुपैयाँ सुनिश्चित गर्दै सूत्रमा आधारित थप रकमसहित कुल चार करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ।

मेरिङदेनको पहिचानः समृद्धिको अभियान’ भन्ने मूल नारासहित ल्याइएको बजेटले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र मेरिङदेन–३ दोभान बजारदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने लक्ष्य अघि सारेको छ। उक्त सडकलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा समावेश गरिएको छ।

उपाध्यक्ष चोङ्बाङका अनुसार दोभान–गाउँपालिका केन्द्र सडकखण्डमा क्रमिक रूपमा बजेट विनियोजन गरी आगामी आवभित्र कालोपत्रे सम्पन्न गरिनेछ। साथै सडक सञ्जाललाई मेरिङदेन–६ नाल्बुसम्म विस्तार गर्दै कालोपत्रे गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष चोङ्बाङले नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा जनप्रतिनिधि, विकास साझेदार, बुद्धिजीवी, कृषक, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी, श्रमिक तथा स्वदेश–विदेशमा रहेका पालिकावासीबाट प्राप्त सुझावलाई समेटिएको बताउनुभयो।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै आर्थिक तथा सामाजिक क्षेत्रको समग्र उन्नयनलाई जोड दिँदै बजेट कार्यान्वयनमा सबै सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय