ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ३३ लाख ६ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार निर्माण, कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने रणनीति अघि सारेको छ।
गाउँपालिकाको बजेट अधिवेशनमा उपाध्यक्ष डण्डु लामाले प्रस्तुत गरेको बजेटमा आर्थिक उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिका अध्यक्ष भक्त कार्कीको अनुमतिमा प्रस्तुत बजेटले कृषि आधुनिकीकरण, पर्यटन पूर्वाधार विकास तथा जलविद्युत् स्रोतको उपयोगमार्फत आयआर्जन बढाउने लक्ष्य लिएको छ।
कुल बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १० करोड ७ लाख रुपैयाँ, सशर्त अनुदान १४ करोड २६ लाख रुपैयाँ, विशेष अनुदान ७९ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ७४ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ९ करोड ४२ लाख ३८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान ८२ लाख ६४ हजार रुपैयाँ, सशर्त अनुदान ६ करोड ४३ लाख ६० हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ६० लाख रुपैयाँ र राजस्व बाँडफाँडतर्फ ७४ लाख २७ हजार ६ सय ७५ रुपैयाँ प्राप्त हुने जनाइएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट ४५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य समेत राखेको छ।
पालिकाका अनुसार बजेटको ठूलो हिस्सा सडक, खानेपानी, सिंचाइ तथा अन्य पूर्वाधार विकासमा केन्द्रित हुनेछ। साथै कृषि उत्पादन वृद्धि, पर्यटन व्यवसाय विस्तार र जलविद्युत् क्षेत्रको सम्भावनालाई आर्थिक विकाससँग जोडेर स्थानीय आय बढाउने योजना अघि सारिएको छ।
गाउँपालिकाले स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धनमार्फत गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, दिगो तथा समावेशी विकास र प्रविधिमैत्री सुशासनलाई बजेटको मुख्य उद्देश्य बनाएको जनाएको छ। यसले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
