पूर्वपोष्ट
ताप्लेजुङ । सामाजिक सुरक्षा, कृषि उत्पादन, पूर्वाधार विकास र रोजगार सृजनालाई केन्द्रमा राख्दै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १६ वटा प्राथमिकताप्राप्त विकास योजना सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष दिपेन पोमुले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत ‘समृद्ध पालिका निर्माण’को लक्ष्यसहित विभिन्न विकास आयोजना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। नीति तथा कार्यक्रममा फुसको छानो विस्थापनदेखि निःशुल्क विद्युत्, शिक्षा, स्वास्थ्य सेवा र कृषि अनुदानसम्मका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
‘जस्ताको छानो गाउँपालिकाको सान, फुसको छानो विस्थापन हाम्रो अभियान’ नाराअन्तर्गत सञ्चालन भइरहेको फुसको छानो विस्थापन कार्यक्रम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी गाउँपालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। त्यस्तै ‘उज्यालो पालिका’ कार्यक्रमअन्तर्गत घरायसी प्रयोजनका लागि उपभोग हुने विद्युत् महसुल निःशुल्क गर्ने व्यवस्था पनि यथावत् राखिने भएको छ।
स्वास्थ्य क्षेत्रतर्फ ‘स्वास्थ्य हाम्रो पहिलो धन’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। शिक्षा क्षेत्रमा ‘सबैका लागि निःशुल्क शिक्षा’ कार्यक्रमअन्तर्गत कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने व्यवस्था कायम रहने नीति लिइएको छ।
कृषि उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउन किसान लक्षित कृषि अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै गाउँपालिकाभित्रका मुख्य सडकहरूको स्तरोन्नति, शाखा सडकहरूको नियमित मर्मत तथा बाह्रै महिना सञ्चालनयोग्य बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
खानेपानी अभाव रहेका बस्तीहरूमा सुरक्षित खानेपानीको पहुँच विस्तार गरिने तथा पूर्वाधार विकासका योजनाहरूलाई मितव्ययी, पारदर्शी, लागत प्रभावकारी र गुणस्तरीय ढंगले कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै पूर्वतयारी, राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। आन्तरिक आय वृद्धि गर्ने उद्देश्यले प्राकृतिक तथा कृत्रिम पर्यटन पूर्वाधारको विकास, पर्यटकीय क्षेत्रको पहिचान र विस्तार तथा एग्रो–टुरिजमको अवधारणा अघि बढाइने भएको छ।
सुशासन प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रयोगलाई थप व्यवस्थित बनाउने, प्राकृतिक स्रोत–साधनको दिगो उपयोग गर्ने तथा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र सार्वजनिक परीक्षणलाई निरन्तरता दिने नीति पनि गाउँपालिकाले लिएको छ।
‘समृद्ध आठराई त्रिवेणीको आधार कृषि, उद्यम र रोजगार’ भन्ने नारासहित प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा ‘एक घर, एक रोजगार’ कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै उपभोक्ता समितिको दर्ता तथा योजना सम्झौता वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाइने जनाइएको छ।
गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयमा निःशुल्क इन्टरनेट सेवा जडान भइसकेकाले आगामी वर्ष उक्त सेवाको थप व्यवस्थापन र प्रभावकारिता बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
