पूर्वपोष्ट
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड ५५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २०औँ अधिवेशनबाट पारित बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।
गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष विकास साम्राले पेश गरेको बजेट वक्तव्यमाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको जनाएको छ।
स्वीकृत बजेटमध्ये चालु खर्चतर्फ ४० करोड ५१ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ १८ करोड ३ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ। कुल बजेटको करिब ६९ प्रतिशत हिस्सा चालु खर्चमा र ३१ प्रतिशत हिस्सा विकास तथा पूँजीगत कार्यक्रमका लागि विनियोजन गरिएको छ।
गाउँपालिकाका अनुसार आगामी वर्ष ग्रामीण पूर्वाधार विस्तार, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ। स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने तथा रोजगारी सिर्जनामा समेत बजेट केन्द्रित रहने जनाइएको छ।
यसैबीच गाउँसभाले गाउँपालिकाको पहिचान र प्रतिष्ठा बढाउन योगदान पुर्याएका दुई व्यक्तित्वलाई सम्मान गरेको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको चौथोपटक सफल आरोहण गरी गाउँपालिकाको लोगो अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्याएका फक्ताङलुङ–७ का पर्वतारोही छेतेन टासी शेर्पालाई नगद एक लाख रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ।
त्यस्तै, सगरमाथा आधार शिविरबाट सञ्चालन हुने ४२ किलोमिटर म्याराथन दौडमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गाउँपालिकाको नाम उच्च बनाएका फक्ताङलुङ–३ का धावक रमेश लिम्बू तावालाई नगद ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको छ।
