पूर्वपोष्ट
ताप्लेजुङ, २९ असार । मेची राजमार्गसँगै झापा जोड्ने दुवै वैकल्पिक सडकसमेत अवरुद्ध भएपछि इलाम, पाँचथर र ताप्लेजुङको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। निरन्तरको वर्षासँगै आएको पहिरो र बाढीले मुख्य तथा वैकल्पिक दुवै मार्ग बन्द हुँदा यात्रु, बिरामी र मालवाहक ढुवानी प्रभावित बनेका छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ स्थित राजदुवालीमा पुरानो पहिरो थप धस्सिँदा मेची राजमार्गको सडक नै बगेको छ। सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए।

यसैबीच, गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि उक्त वैकल्पिक मार्ग पनि बन्द भएको छ। त्यसैगरी, केचना–कञ्चनजङ्घा सडकअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि झापासँग जोडिने अर्को विकल्पसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको प्रयास भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताए। उनका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने तयारी भए पनि भारतबाट आवश्यक सामग्री र प्राविधिक टोली आउने मिति टुंगो नलागेकाले तत्काल यातायात सहज हुने सम्भावना कम देखिएको छ।

सडक अवरुद्ध भएपछि इलाममा मालवाहक सवारी प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)का अनुसार यसअघि व्यवसायीहरूले साना सवारीमार्फत अत्यावश्यक सामग्री भित्र्याउँदै आएका थिए। तर वैकल्पिक मार्गसमेत बन्द भएपछि इन्धन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अभाव हुने जोखिम बढ्दै गएको उनले बताए।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड पछिल्ला तीन वर्षदेखि प्रत्येक बर्खामा पहिरोको उच्च जोखिममा पर्दै आएको छ। करिब आधा किलोमिटर सडक बारम्बार धस्सिने समस्या समाधान हुन नसक्दा यस वर्ष पनि यातायात सेवा प्रभावित बनेको हो। पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायमै रहेकाले थप वर्षा भए आवागमन अझै कठिन बन्न सक्ने स्थानीयको भनाइ छ।

लगातार सडक बन्द भइरहँदा यातायात व्यवसायी पनि समस्यामा परेका छन्। इलाम नगरपालिका–७ का सवारी चालक निङ्मा शेर्पाले हरेक दिन सडक खुल्ने आशामा यात्रा सुरु गरे पनि वर्षा लाग्नेबित्तिकै पुनः सडक बन्द हुने अवस्था दोहोरिने गरेको बताए। गाडीको किस्ता, इन्धन खर्च र परिवारको दैनिक खर्च व्यवस्थापन गर्न निकै कठिन भएको उनको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय