पूर्वपोष्ट
ताप्लेजुङ, २९ असार ।कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त हुनुभएको छ ।
सरकारले प्रतिष्ठानको सदस्यमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी)लाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।
कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष प्रतिष्ठानको पदेन सदस्य रहने व्यवस्था छ ।
प्रदेश सरकारले आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणलाई व्यवस्थित गर्न प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिएको जनाएको छ ।
उक्त ऐनको उद्देश्य स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्धन गर्नुका साथै आमसञ्चार क्षेत्रसँग समन्वय कायम गरी पत्रकार तथा सञ्चारकर्मीको व्यावसायिक हित अभिवृद्धि गर्नु रहेको जनाइएको छ ।

