पूर्वपोष्ट
ताप्लेजुङ । लाखेजात्राको अवसरमा ताप्लेजुङमा आगामी भदौ १२ देखि १९ गतेसम्म ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ।

लाखेजात्रा सञ्चालक समितिको आयोजनामा हुने प्रतियोगितामा यस वर्ष आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। हालसम्म गत वर्षको विजेता सहलेश युवा क्लब सिराहा, झापा–११ फुटबल क्लब, सातदोबाटो युथ क्लब ललितपुर, चित्लाङ एफसी काठमाडौं, फिदिम स्पोर्टिङ क्लब पाँचथर र आयोजक टोलीको सहभागिता निश्चित भएको छ। बाँकी दुई टोलीको टुङ्गो केही दिनभित्र लाग्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।

प्रतियोगिताको तयारी सुरु भइसकेको आयोजकले जनाएको छ। यस वर्ष सबै खेल हेर्न चाहने दर्शकका लागि रु. ३ हजारको प्याकेज टिकट बिक्री सुरु गरिएको छ। प्याकेज टिकट खरिद गर्ने दर्शकलाई प्याराफिटमा विशेष बस्ने व्यवस्था, केही अतिरिक्त सुविधा तथा भाग्यचिठ्ठा कार्यक्रममा सहभागी हुने अवसर दिइनेछ। अन्य टिकटको मूल्य पनि चाँडै सार्वजनिक गरिने अध्यक्ष मादेनले बताए।

दर्शकको सुविधाका लागि खेल मैदानमा बाँसको प्याराफिट निर्माण गरिनेछ। साथै, यस वर्ष पुरस्कार राशिसमेत बढाउने तयारी गरिएको आयोजकले जनाएको छ। गत वर्षको प्रतियोगितामा विजेता टोलीले रु. ७ लाख र उपविजेताले रु. ३ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।

लाखेजात्रा पर्वको अवसरमा वि.सं. २०२९ सालदेखि कञ्चनजंघा, पाथीभरा लगायत विभिन्न नामबाट सुरु भएको यो प्रतियोगिता अहिले ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ। पूर्वी पहाडकै चर्चित फुटबल प्रतियोगितामध्ये एक मानिने गोल्डकप हेर्न प्रत्येक वर्ष इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लाबाट पनि ठूलो संख्यामा फुटबलप्रेमी ताप्लेजुङ आउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय