पूर्वपोष्ट
ताप्लेजुङ २१ असार । साविक उपविजेता फ्रान्स र अफ्रिकी शक्ति मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। राउन्ड अफ १६ का आफ्ना–आफ्ना खेल जित्दै दुवै टोलीले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्। अब सेमिफाइनल प्रवेशका लागि यी दुई टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्‍यो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले ७०औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो। डिजायर डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि प्राप्त अवसरलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।

जारी विश्वकपमा एम्बाप्पेको यो सातौं गोल हो। उनी अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन्। साथै, विश्वकपमा मेसीको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा उनी अब केवल एक गोलले मात्र पछि छन्।

खेलभर फ्रान्सले ५९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै दबाब बनाएको थियो। फ्रान्सले १५ पटक प्रहार गर्दा पाराग्वेले पाँच सट मात्र प्रहार गर्न सक्यो, जसमा एउटा मात्रै लक्ष्यतर्फ थियो। १८औं पटक विश्वकप खेलिरहेको फ्रान्सले दशौं पटक क्वार्टरफाइनलमा स्थान बनाएको हो।

यता, अमेरिकाकै ह्युस्टन स्टेडियममा मोरक्कोले सहआयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गर्‍यो।

मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे। ओउनाहीले ५०औं मिनेटमा कप्तान अच्राफ हाकिमीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे भने इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोको सहज जित सुनिश्चित गरे।

क्यानडाले गोलतर्फ बढी प्रहार गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। बल पोजिसनमा भने मोरक्कोले स्पष्ट पकड कायम राख्यो।

सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनल पुगेको हो। यसअघि सन् २०२२ मा सेमिफाइनलसम्म पुगेको मोरक्को दुई पटक विश्वकप क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत बनेको छ। पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडा भने पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको पहिलो आयोजक राष्ट्र बन्यो।

अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को आमनेसामने हुनेछन्। सन् २०२२ को विश्वकप सेमिफाइनलको पुनरावृत्ति हुने यस खेलमा फ्रान्स फेरि आफ्नो पुरानो सफलता दोहोर्याउने लक्ष्यमा हुनेछ भने मोरक्को इतिहास दोहोर्याउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानलाई निरन्तरता दिन चाहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय