पूर्वपाेष्ट

ताप्लेजुङ,  ६ साउन । ताप्लेजुङमा यस वर्ष धान रोपाइँले गति लिन सकेन। असार महिनाभित्र धान रोपाइँ सकिने गरेकोमा जेठको अन्तिम हप्तादेखि सुरु रोपाइँ साउनको पहिलो सातासम्म ६२.५ प्रतिशत मात्रै सकिएको छ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन ४ गतेसम्म जिल्लामा ६२.५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुने ताप्लेजुङमा यस वर्ष सुरुआती खडेरीका कारण अपेक्षाअनुसार गति लिन सकेको थिएन। तर, असारको तेस्रो सातादेखि नियमित वर्षा भएपछि रोपाइँले तीव्रता पाइरहेको छ।

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली विकास अधिकृत मुना न्यौपानेले गत वर्षको तुलनामा यस वर्ष केही प्रतिशत बढी क्षेत्रफलमा धान रोपिएको बताइन्। हाल जिल्लाको तल्लो बेँसी अर्थात् औल क्षेत्रमा धमाधम रोपाइँ भइरहेको र मौसम अनुकूल रहे साउन १० गतेसम्म अधिकांश खेतमा रोपाइँ सकिने उनको भनाइ छ।

केन्द्रका अनुसार जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा असारको दोस्रो साताभित्रै रोपाइँ सम्पन्न भइसकेको छ भने मध्य पहाडी क्षेत्रमा पनि अधिकांश खेतमा धान रोपिसकिएको छ। अब मुख्य रूपमा औल भेगका खेतमा मात्रै रोपाइँ बाँकी रहेको र त्यहाँ पनि साउन १५ देखि २० गतेभित्र सबै रोपाइँ सकिने अपेक्षा छ। ताप्लेजुङका किसानले परम्परागत रूपमा बेलगुटी, भँगेरे र अट्टेजस्ता रैथाने धानका जात लगाउने गरेका छन्। पछिल्ला वर्षमा सुक्खा–१ र खुमल–४ जस्ता उन्नत जातका धान पनि विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लामा कुल पाँच हजार ६६६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि ज्ञान केन्द्रले समयमै मल, बिउ र अनुकूल मौसम उपलब्ध भएकाले बाँकी क्षेत्रमा पनि निर्धारित समयभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय