पूर्वपोष्ट

ताप्लेजुङ । लगातारको भीषण वर्षापछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा गएको पहिरोले दुई घरमा ठूलो क्षति पुर्‍याएको छ। मङ्गलबार बिहान गएको पहिरोले एक घर पूर्ण रूपमा बगाएको छ भने अर्को घर बस्न नमिल्ने गरी क्षति पुगेपछि दुवै परिवार विस्थापित भएका छन्।

साब्लाखु प्रहरी चौकीका अनुसार निभारेका जीवनाथ बानियाँ र मेहरमान बानियाँको घर पहिरोले क्षति पुर्‍याएको हो। मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

वडा सदस्य टइन्द्रप्रसाद चापागाईंका अनुसार जीवनाथ बानियाँको घर पूर्ण रूपमा पहिरोले बगाएको हो। घरमा उहाँकी बुहारी सीता बानियाँ र एक नातिनी मात्रै बस्दै आएका थिए। उनीहरू पहिरो जानुअघि नै सोमबार आफन्त दिलबहादुर बानियाँको घरमा सरेर बसेकाले ठूलो मानवीय दुर्घटना टरेको उहाँले बताउनुभयो। हाल सीता बानियाँ नाबालिका छोरीसहित आफन्तकै घरमा आश्रय लिएर बसिरहेकी छन्।

यस्तै, मेहरमान बानियाँको घर बस्न नमिल्ने अवस्थामा पुगेपछि सात सदस्यीय परिवार आफ्नै पशु गोठमा बस्न बाध्य भएको वडा सदस्य चापागाईंले जानकारी दिनुभयो।

पहिरोले जीवनाथको घरसँगै खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री बगाउँदा करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। मेहरमानको घरमा रहेका सामग्री भने समयमै निकाल्न सफल भएकाले घर संरचनामा मात्रै करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।

स्थानीयका अनुसार पहिरोले मकैबाली, अलैँचीसहित अन्य कृषि उत्पादनमा समेत क्षति पुर्‍याएको छ।

घटनापछि साब्लाखु प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा क्षतिको विवरण सङ्कलन गरेको छ। पहिरो प्रभावित कालिखोला क्षेत्र साब्लाखुबाट करिब तीन घण्टाको पैदल दूरीमा पर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय