पूर्वपोष्ट

ताप्लेजुङ, २१ जेठ  । ताप्लेजुङमा २० औँ राष्ट्रिय जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस बाजागाजा सिहत मनाइएके छ । दिवसका  अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

दलित एकता समाज ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा सञ्चार क्षेत्रमार्फत योगदान पुर्‍याउने दलित पत्रकार तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने दलित समुदायका विद्यार्थीलाई सम्मान गरिएको थियो।

समाजका अध्यक्ष अमरबहादुर विश्वकर्माका अनुसार सञ्चार क्षेत्रमा सक्रिय रहेका पत्रकारहरूलाई सम्मान गरिएको हो। सम्मानित हुने पत्रकारहरूमा सन्तोष युक्ति (रेडियो नेपाल), एलिना दियाली (रेडियो काबेली), किरण गदाली (रेडियो ताप्लेजुङ), विक्रम लामगादे (रेडियो तमोर), सुनिता रसाइली (रेडियो तमोर) र अनिषा विक (रेडियो काबेली) रहेका छन्। समाजले सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने नवीन लामगादे र जीवन कालिकोटेलाई पनि प्रशंसापत्र प्रदान गरेको जनाएको छ।

यस्तै, फुङ्लिङ नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच जना दलित विद्यार्थीलाई नगदसहित सम्मान गरिएको दलित अधिकारकर्मी नेत्र नेपालीले जानकारी दिए। सम्मानित विद्यार्थीहरूमा सिद्धकाली माध्यमिक विद्यालयकी दोर्गा चन्द्रकला विक, देवलिङ माध्यमिक विद्यालयकी सपना विक, नवज्योति किरण एकेडेमीका अञ्जन परियार, जनता माध्यमिक विद्यालयकी करिना नेपाली र भानुजन माध्यमिक विद्यालयकी दीक्षा नेपाली रहेका छन्।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रमुख उमेश जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्मका प्रमुख प्रकाश पाठक लगायत राजनीतिक दलका प्रतिनिधि, महिला नेतृ, अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन हुनुपर्ने, सामाजिक चेतना अभिवृद्धि गर्नुपर्ने र समानतामूलक समाज निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। औपचारिक कार्यक्रमअघि सदरमुकाम फुङ्लिङ बजार क्षेत्रमा बाजागाजासहित सचेतनामूलक र्‍याली समेत निकालिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!