पूर्वपोष्ट
ताप्लेजुङ । नवौं जिल्ला सभाको अवसरमा ताप्लेजुङको विकास, समृद्धि तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था र स्थानीय तहलाई सम्मान गरिएको छ।
जिल्ला समन्वय समिति ताप्लेजुङले सोमबार आयोजित नवौं जिल्ला सभाको उद्घाटन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको हो। प्रतिनिधिसभा सदस्य क्षितिज थेबे र जिल्ला समन्वय समितिका प्रमुखले सम्मानपत्र प्रदान गरेका थिए।
स्थानीय शासन र नेतृत्वतर्फ मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, पाथीभरा याङवरक गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङ तथा फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ सम्मानित भए।
त्यसैगरी उद्यमशीलतातर्फ विष्णु श्रेष्ठ, शिक्षातर्फ भरतकुमार गुरुङ, सामाजिक सेवातर्फ होप फर अल, मानव उद्धार सेवातर्फ महेन्द्र भट्टराई, कृषितर्फ इन्द्र सुनुवार, लेखा व्यवस्थापनतर्फ समिर निरौला, सहकारी क्षेत्रबाट टामन सिग्देल, सञ्चार क्षेत्रबाट रेडियोकर्मी कृष्ण फुरुम्बो, सांस्कृतिक संरक्षणतर्फ लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन, पर्यटन प्रवर्द्धनतर्फ पाथीभरा क्षेत्र विकास समितिका प्रजिन हाङवाङ तथा शिक्षा र धार्मिक क्षेत्रबाट साङक देछोयोलिङ गुम्बाका प्रधानाध्यापक पासाङरिता शेर्पा सम्मानित भए।
जिल्ला समन्वय समितिको संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै पूर्व सभापतिहरू श्रीप्रसाद भण्डारी र दीपेन्द्र सेन्दाङ, पूर्व जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन तथा पूर्व उपसभापतिहरू नरेन्द्रराज थेबे, काजीमान साम्सोहाङ, प्रतापप्रकाश हाङगाम, रामप्रसाद सुवेदी र पूर्व जिल्ला समन्वय उपप्रमुख देविमाया नेपालीलाई पनि सम्मान गरिएको थियो।
यसैबीच, आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) तथा वित्तीय जोखिम मूल्याङ्कन (FRA) मा उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लामै उत्कृष्ट बन्न सफल मैवाखोला गाउँपालिकालाई पनि विशेष सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ।

